Nic Ad Nic Ad
Nic Ad Nic Ad

अविरल वर्षापछिको बाढीपहिरो र डुबानले कृषिमा ६ अर्ब बढीको क्षति

बुधबार, असोज १६, २०८१

काठमाडाैं - अविरल वर्षापछिको बाढीपहिरो र डुबानले कृषि क्षेत्रमा करिब ६ अर्बभन्दा बढीको क्षति पुगेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रारम्भिक आकलन छ ।

स्थानीय तह, प्रदेश, निर्देशनालयलगायत परिचालन गरी संकलन गरेको तथ्यांकमा खेतमा लगाएको बाली, गोठमा रहेका पशुपक्षी र पोखरीमा रहेका माछासमेत नष्ट भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, खेतीयोग्य जमिनको कटान, कृषि पूर्वाधारमा क्षति, आपूर्ति शृंखलामा अवरोधलगायतका माध्यमबाट कृषि क्षेत्रले ठुलो नोक्सानी व्यहोरेको मन्त्रालयबाट संकलित तथ्यांकमा देखिन्छ ।

कृषिमन्त्री रामनाथ अधिकारीले क्षतिको प्रारम्भिक तथ्यांक नै डरलाग्दो देखिएको बताए । प्रारम्भिक तथ्यांकअनुसार धानबाली लगाएको १३ लाख ७८ हजार हेक्टरमध्ये बाढीले ५८ हजार चार सय ७६ हेक्टरमा पूर्ण क्षति गरेको छ । उक्त खेतमा उब्जनी हुने तीन अर्ब ५० करोड रुपैयाँबराबरको धानमा किसानले क्षति नोक्सानी व्यहोरेको मन्त्रालयको तथ्यांक छ । तुलनात्मक रूपमा कम रोपाइँ भएको यो वर्ष बाढीले थप क्षति गरेपछि धानको राष्ट्रिय उत्पादनमै असर पर्ने देखिएको छ ।

सबैभन्दा धेरै धान उत्पादन हुने मधेशका आठवटै जिल्लामा बाढीले गरेको क्षतिका कारण उब्जनीमा ठुलो चिन्ता थपिएको कृषिमन्त्री अधिकारीले बताए । ‘वर्षभरि खाने अन्नपात नोक्सानी हुँदा किसानको रोजीरोटी नै खोसिन सक्ने जोखिम बढेको छ,’ उनले भने ।

मन्त्रालयका अनुसार मधेशका आठसहित नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर, काभ्रेमा लगाइएको धानबालीमा धेरै नोक्सानी भएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्