अखिल क्रान्तिकारीको निर्वाचन प्रक्रिया स्थगित
काठमाडौँ- माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले बुधबारका लागि तय भएको निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।
अब बन्दसत्र असोज १७ गते बिहान १० बजे पुन: सञ्चालन गरिने अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
उमेर हदको विवादमा आपसमा कुर्सि हानाहानको अवस्था सिर्जना भएको थियो । अनेरास्ववियु क्रान्तिकारीमा विवाद बढेपछि पार्टीले हस्तक्षेपको तयारी गरेको छ । अब महाधिवेशन हलले उमेर हदको विवाद टुंगाउन नसकेपछि पार्टीले आज निर्णय लिन लागेको बताइएको छ । क्रान्तिकारीको महाधिवेशन बारे निर्णय लिन अध्यक्ष पुष्प कमल दाहालले आज आफ्नै निवासमा पदाधिकारीसँग छलफल गरिरहेको बताइएको छ । पार्टीले आज उमेर हदको विषयमा निर्णय लिएर नेतृत्व चयनको प्रक्रिया सुरु गर्नसक्ने बताइएको छ ।
अहिले क्रान्तिकारीको नेतृत्वको लागि इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौं नेता अध्यक्षका आकाङ्क्षी रहेका छन् ।
यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने बताएको छ ।