Nic Ad Nic Ad
Nic Ad Nic Ad

मधेस प्रदेश सरकारले बाढी पहिरो पीडितलाई एक लाख दिने

बुधबार, असोज १६, २०८१

जनकपुर- मधेस प्रदेश सरकारले यही असोज ११ र १२ गतेको बाढी पहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही रु. एक लाखका दरले राहत दिने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त राहत दिनेबारे आज घोषणा गरेका हुन् ।

मुख्यमन्त्री सिंहले बाढी पहिरो तथा डुबानबाट प्रभावित प्रदेशवासीलाई राहत उपलब्ध गराउन एक द्वार प्रणाली अवलम्बन गर्न प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । उनले बर्खा तथा बाढीबाट प्रभावित बस्तीमा राहत तथा पुनः स्थापना कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय तहलाई आग्रह गरेका छन् । मुख्यमन्त्री सिंहले विपद्का बेला मधेस प्रदेशमा खोज, उद्धार एवं तत्काल राहत कार्यको व्यवस्थापनमा सक्रिय स्थानीय तह, सुरक्षा अधिकारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद समेत दिए । उनले यसअघि बाढीबाट प्रभावित गाउँ बस्तीमा पुनः स्थापनाका काम गर्न स्थानीय तह र विभिन्न स्थानीय तहलाई कार्य क्षेत्र बनाइ काम गर्दै आएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थासँग आग्रह गरेका थिए ।

बाढीका कारण कृषि, सिँचाइ, भौतिक पूर्वाधारलगायत क्षेत्रमा भएका क्षतिका विषयमा विवरण सङ्कलन भइरहेको जानकारी दिँदै मुख्यमन्त्री सिंहले त्यसअनुरूप राहत तथा पुनः स्थापना कार्यमा सहजीकरण गर्न प्रदेशका मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्