Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढीबाट ललितपुर-१ वडा कार्यालयमा मात्रै ८० लाखको क्षति

बिहीबार, असोज १७, २०८१

ललितपुर- गत साता बागमती नदीमा आएको बाढीबाट ललितपुर महानगरपालिका–१ को वडा कार्यालयमा करिब रु ८० लाख बराबरको क्षति भएको छ ।

ललितपुरको कुपण्डोलस्थित बागमती करिडोरमा रहेको वडा कार्यालयको तल्लो तलामा बाढी पस्दा स्वास्थ्य उपकरण, महत्त्वपूर्ण कागजातलगायत सामग्री नष्ट भएको वडाध्यक्ष निर्मल तण्डुकारले जानकारी दिए ।उनले भने, “महानगरको जनस्वास्थ्य शाखाबाट वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरेका थियौँ । आधारभूत स्वास्थ्य केन्द्र तल्लो तलामा थियो । स्वास्थ्यका अत्याधुनिक उपकरणसहितका सामग्री डुबेका छन्, बाढीबाट करिब रु ८० लाख बराबरको क्षति भएको छ ।”

बाढीले अल्ट्रासाउन्ड, इसिजी तथा प्रयोगशालामा प्रयोग हुने महत्त्वपूर्ण उपकरण, छ वटा कम्प्युटर र केही औषधिलगायत सामग्रीमा क्षति भएको छ । वडाध्यक्षसहित जनप्रतिनिधि वडा कार्यालयको व्यवस्थापनमा जुटेका छन् ।

कार्यालयको माथिल्लो तलाबाट सेवा प्रवाह गरिरहेको वडाध्यक्ष तण्डुकारले जानकारी दिए । कार्यालयको माथिल्लो तलामा क्षति कम भएकाले महत्त्वपूर्ण सेवा प्रवाह नरोकिएको उनले बताए । बाढीले स्वास्थ्य केन्द्र पूर्णरुपमा क्षति भएपछि आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न नसकिएको केन्द्रका अहेव नारायण साहले बताए । “स्वास्थ्य केन्द्रका सबै उपकरण र औषधि काम नलाग्ने अवस्थामा छन्”, उनले भने ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्