चन्दननाथ र भैरवनाथ मन्दिरको लिंगो फेरियो
जुम्ला- जुम्ला सदरमुकाम खलंगा बजारमा रहेको कर्णाली प्रदेशको प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरको ५२ हातको नयाँ लिंगो आज फेरिएको छ । हरेक वर्ष घटस्थापनाका दिन लिंग फेर्ने प्रचलन अनुसार यस वर्ष पनि लिंगो फेरिएको चन्दननाथ एवं भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताए।
मन्दिरमा लिंगो ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ-आफ्ना घरमा घटस्थापना गर्छन् । “चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते ध्वजा राखिएको हुन्छ । भैरवनाथ मन्दिरको लिंगोमा ४८ हातको लिंगो र ४८ हातकै ध्वजा राख्ने चलन छ”, थापाले भने। उनका अनुसार वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि चन्दननाथ र भैरवनाथले रक्षा गरुन् भनेर ५२ हाते लिंगोसहित ध्वजा राख्ने प्रचलन रहेको हो ।मन्दिरको माटो लगेर यहाँका स्थानीयले घरमा जमरा राख्ने प्रचलन रहेको अध्यक्ष थापाले बताए। मन्दिरमा जय स्तम्भसहित पाँच वटा लिंगो खडा गरिएको उनको भनाइ छ ।
घटस्थापनाको दिन उत्पादन वृद्धि होस्, भोकमरी नहोस् भन्ने कामनासहित चन्दननाथ भैरवनाथ मन्दिरमा मार्सीधानको सिक चढाउने परम्परा रहेको यहाँको संस्कृतिका जानकार रमानन्द आर्चायले जानकारी दिए। एक दशक पहिलेसम्म लिंगो फेर्न तत्कालीन कर्णाली अञ्चलका जिल्लाबाट विभिन्न वस्तु पठाउने चलन थियो । “जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ, मह आउँथ्यो । हुम्लाबाट ठेटुवा, चौरी फुर्को र थाप्का आउँथ्यो भने मुगुबाट मास, मुगी दाल, राडीपाखी, ठेटुवा र चौरी पठाइन्थ्यो”, उनले भने।
अहिले उक्त परम्परा रोकिएको आर्चायले बताए। अहिले सुरक्षाकर्मीले सबै व्यवस्था गर्ने उनको भनाइ छ । कर्णाली प्रदेश सरकारले यही असोज १४ गते (कृष्ण त्रयोदशी) मा चन्दननाथ मन्दिरको लिंगो बोक्ने दिनका रूपमा जुम्लामा एक दिन सार्वजनिक बिदा दिएको थियो ।