Nic Ad Nic Ad
Nic Ad Nic Ad

ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ : पर्यटनमन्त्री पाण्डे

शुक्रबार, असोज १८, २०८१

तनहुँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ढोरावाराही मन्दिरको विकास र प्रवर्द्धनलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्त्व र यसको दीर्घकालीन विकास’ सम्बन्धी अन्तरक्रियामा उहाँले धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण स्थलको विकासमा सरकारले ध्यान दिइरहेको बताए ।गण्डकी प्रदेश सरकारले दश गन्तव्यमध्ये एउटा गन्तव्य ढोरवाराहीलाई बनाएको बताउँदै मन्त्री पाण्डेले भने, “यसै वर्ष यस ठाउँको प्रोफाइल बनाउने गरी नेपाल पर्यटन बोर्डलाई ध्यानाकर्षण गराउनेछु । त्यसो भएको खण्डमा यस ठाउँको थप विकासमा टेवा पुग्नेछ ।”

मन्त्री पाण्डेले ढोरवाराही मन्दिरको गुरुयोजना बनाएर विकास गर्नुपर्नेमा जोड दिए । उनले भने, “यस मन्दिरको धार्मिक महत्वका बारेमा हामी सबै जानकार छौ । स्थानीय, प्रदेश र सङ्घ सरकार मिलेर यसको प्रवर्द्र्धनमा जुट्नुपर्छ ।”

तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले ऐतिहासिक र धार्मिक महत्त्व बोकेको ढोरवाराहीलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशसभा सदस्य श्यामराजा महत, पूर्व मन्त्री आशा कोइराला, नेपाली काँग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले ढोरावाराहीलाई धार्मिक सांस्कृतिक गन्तव्य स्थल बनाउने गरी आवश्यक पूर्वाधार गर्नुपर्नेमा जोड दिए ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले स्थानीय सरकारका तर्फबाट यस क्षेत्रको विकासका लागि आफूहरू लागिपरेको बताए । जङ्गलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन लोभ्याउँछ । ढोरवाराहीमा रहेको पोखरीमा बेला–बेला लहरी छुट्ने गर्दछ । रहस्यमी लहरीलाई धार्मिक आस्थाको रूपमा लिने गरिन्छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्