Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढीले कमला नहर सिँचाइ आयोजनामा क्षति

शनिबार, असोज १९, २०८१

गोलबजार (सिरहा)  - केही दिनअघि आएको बाढीले कमला नहर सिँचाइ आयोजनामा करिब रु सात करोड ५० लाख बराबरको भौतिक क्षति पुर्‍याएको कमला नहर सिँचाइ आयोजना कार्यालयले जनाएको छ । नहर, ‘साइफन’ तथा सिँचाइको प्रमुख केन्द्रमा बालुवा पसेर क्षति पुर्‍याएको हो । 

आयोजना प्रमुख वीरेन्द्र यादवका अनुसार नहरको पूर्वी क्षेत्रको प्रणाली सिरहा, पश्चिमी क्षेत्रको प्रणाली तथा हर्दिनाथ सिँचाइ प्रणाली गरी रु साढे सात करोड बढीको भौतिक क्षति भएको प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिएको छ ।

सिरहा र धनुषाको गरी कुल २७ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइरहेको सो आयोजनाको क्षमता थप भई पछिल्लो समय ३८ हजार हेक्टर पुगेको थियो । अविरल वर्षासँगै आएको बाढीबाट क्षतिग्रस्त हुँदा सिँचाइमा समस्या भएको प्रमुख यादवले बताए । 

कमला नहरसहित नहरसम्म पुग्ने ग्राभेल बाटोमा क्षति हुनुका साथै भौतिक संरचना नष्ट भएका आयोजना कार्यालयका सबइञ्जिनियर सुभाष यादवले बताए। ती संरचना पुनः निर्माण गर्न आर्थिक अभाव भएकाले सरोकार भएका निकायले सहयोग गर्नुपर्ने उनले उल्लेख गरे । 

कर्जनहा नगरपालिकाका ममता यादवले यसअघि कमला नहर यहाँका किसानका लागि वरदान जस्तै बनेको बताए। यथाशीघ्र पुनः निर्माण गरी किसानलाई सहज रुपमा सिँचाइको सुविधा पुर्‍याआउनुपर्नेमा उनले जोड दिए । 

आयोजनाले धनुषाका चारनाथ, सबैला, सहिद, विदेह, कमला, हंसपुर नगरपालिका तथा औरही र जनकनन्दनी गाउँपालिकाका साथै सिरहातर्फ कर्जन्हा, मिर्चेया, कल्यानपुर, सिरहा र सुखिपुर नगरपालिका तथा विष्णुपुर र औरही गाउँपालिकामा सिँचाइ सुविधा पु¥याएको छ ।

विसं २०१७ मा तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले उक्त आयोजना शिलान्यास गरेका थिए । आयोजनाले विसं २०४० देखि सिँचाइ सुविधा पुर्‍याउन थालेको हो ।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्