Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटकको रोजाइमा माग्दीको टोड्के

शनिबार, असोज १९, २०८१

म्याग्दी- म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने गर्दथे । टोड्के तत्कालीन समयमा खर्कका रूपमा पनि परिचित थियो । रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित टोड्के पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाईवस्तुको घुम्तिगोठ राख्ने ठाउँलाई खर्क भनिन्छ ।  

जङ्गलमा भएको करिब ५० मिटर लामो सुरुङमा गाईबस्तु अडिकिने र तिनलाई बाघभालुले खाइदिने हुनाले गाउँलेले टोड्को भएको ठाउँभन्दा भन्दै ठाउँकै नाम टोड्के रहन गएको किम्बदन्ती रहेको पूर्णगाउँका दुर्गादत्त आचार्यले जानकारी दिए ।  “हामी तन्नेरी हुँदासम्म टोड्केमा गाईभैसी, भेडाबाख्राको गोठ राख्ने गरिन्थ्यो,” ७० वर्षीय आचार्यले भने, “प्रचारप्रसार, पूर्वाधार निर्माण, सडक, सञ्चार, विद्युत् सुविधा विस्तार भएपछि पछिल्लो समय टोड्के खर्कबाट पर्यटकीय स्थलमा परिणत भएको छ ।” समुन्द्री सतहदेखि दुई हजार ४३० मिटरको उचाइमा रहेको टोड्के प्राकृतिक सौन्दर्ययुक्त गन्तव्य हो । काठमाडौँबाट आएका रोशन राउतले टोड्केको स्वच्छ हावापानी र शान्त वातावरणले तनरमन दुवै चंगा बनाएको अनुभव सुनाए।  “शान्त वातावरण, सुन्दर हिमाल र शीतल हावाले टोड्केलाई रमणीय बनाएको छ,” उनले भने ।

“बिहान घाम लाग्दा र साँझ डुब्दो घामको लालीसँगैको हिमालको दृश्य जति हेरे पनि धितै मर्दैन ।” ऋतु, मौसम र समय अनुसार टोड्केमा फरक फरक दृश्य अवलोकन गर्न सकिन्छ । फागुन–चैतमा टोड्केको दायाँ र बाँया रहेको जङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसको दृश्य मनमोहक हुन्छ । पुस–माघमा सेताम्मे हिउँ पर्ने टोड्केमा हिउँ खेलेर रमाउन पाइन्छ । बिहान, दिउँसो र बेलुकीपख हिमालको सौन्दर्य फरकफरक हुने झिँका स्थानीय गमबहादुर पाइजाले बताए ।

“पृष्ठभूूमिमा गुर्जा, चुरेन, मानापाथी, धवलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लर्कनसँगै सूर्योदय र सूर्यास्तका समयमा फरक फरक दृश्य देखिन्छ,” उनले भने, “शान्त वातावरण । बर्खामा भुईफुलले रंगिएको फाँटबाट देखिने शरदयामको हिमाली मुस्कान । कुहिरो र हिमालको लुकामारी । चराको चिरबिर र जंगलको हरियालीले लठ्ठै बनाउँछ ।”

स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्त्व पनि छ । डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्वारी, शिष्यहरू पुजारी महाराज र रखाल महाराज लगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा रहेको छ । आश्रम परिसरमा गौशाला पनि रहेको छ । 

मगरको पुर्ख्यौली नाच, सोरठी, यानीमायाँ, सालैजो, भजन कीर्तन र पञ्चेबाजामा रम्न पाउनु टोड्केको थप विशेषता हो । टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको रघुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले बताए ।  “वनभोज खान जानेहरूका लागि पनि पूर्वाधारको व्यवस्था मिलाइएको छ,” उनले भने, “खेल पर्यटनको सम्भावनालाई मध्यनजर गरेर टोड्केमा हाइ अल्टिच्युड खेलमैदान निर्माणाधीन छ ।” 

टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ । छ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको टोड्के हिल रिसोर्ट र होमस्टेमा एक दिनमा ६० जनासम्म बास बस्न मिल्ने शौचालय सहितका कोठा र टेन्टको सुविधा रहेको सञ्चालक भीम शेरचनले बताए । दसैँ तिहार, नयाँ वर्ष, फागु पूर्णिमाको समयमा घुम्न र बिदा मनाउनका लागि आन्तरिक पर्यटकहरू टोड्के आउने गरेका उनले बताए । नव विवाहित जोडीहरूको लागि टोड्के हनिमुन गन्तव्य बनेको उनले बताए ।

तालिम गोष्ठी सञ्चालन गर्न सेमिनार हल पनि छ । विद्युत्, इन्टरनेट, तातोपानी सुविधा भएको रिसोर्ट तथा होमस्टेमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्छ । स्वर्गद्वारी आश्रमको तीर्थयात्री निवासमा पनि बास बस्न सकिन्छ । टोड्के घुमेर फर्कँदा सिजनमा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ ।

बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी–अर्थुङ्गे–झिँ हुँदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेङ्ग–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै टोड्के (१४ किलोमिटर) दुरीको सडक प्रयोग गर्न सकिन्छ । 

२९ किलोमिटर दुरीको बेनी–सिम–कुहँ–पूर्णगाउँ हुँदै टोड्के जोड्ने सडकबाट आवत जावत गर्ने क्रममा प्राकृतिक उपचार स्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । उन्नाइस किमी दूरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के सडकमा धार्मिक स्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ । 

पैदलयात्रा गर्न चाहनेहरूका लागि बेनीदेखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरवार–टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ । टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् । धवलागिरी हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ । झिँ र पूर्णगाउँबाट एक घण्टा उकालो हिँडेपछि टोड्के पुगिन्छ । यी गाउँमा होमस्टे सुविधा छ ।  

टोड्केदेखि मालिका धुरी–ठाडाखानी–कुइनेखानी– झिङखानी– चौरखानी– घ्याँसीखर्क हुँदै धौलागिरि हिमालको आधार शिविर र आइसफल हुँदै मुस्ताङको थासाङ गाउँपालिका निस्कने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको परिकल्पना गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए । टोड्के पुग्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएको उनले जानकारी दिए ।

टोड्केदेखि झिँ–पाखापानी–कोटगाउँ–रायखोर–मुलपानी हुँदै घ्यासीखर्क जोडिने धौलागिरि सेञ्चुरी पदमार्ग पनि रहेको छ । म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकले परम्परागत पदमार्ग पूर्ण रूपमा विस्थापित भएको अवस्थामा टोड्के धौलागिरि पानोरमा सांस्कृतिक र धौलागिरि सेञ्चुरी पदमार्ग महत्त्वपूर्ण बैकल्पिक रुटका रूपमा स्थापित गर्न सकिने सम्भावना रहेको म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए  । 

सडक सञ्जालले पुराना र स्थापित पदमार्गहरू मासिँदै गएको सन्दर्भमा संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर समेतलाई समेटिएको यो पदमार्ग गण्डकी प्रदेशमै नयाँ र सम्भावनायुक्त गन्तव्यको रूपमा स्थापित हुने प्रचुर सम्भावना रहेको टे«किङ व्यवसायी एशोसियसन (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र  गण्डकीले टोड्केको प्रवर्द्धनमा सघाएका छन् । पर्यटन बोर्ड गण्डकीका वरिष्ठ अधिकृत कुन्दन मिश्रले टोड्केको प्रवर्द्धनका लागि गत आर्थिक वर्षमा बुकलेट बनाएर पोखराका होटलहरुमा वितरण तथा वृत्तचित्र बनाएर सामाजिक सञ्जालबाट ‘डिजिटल मार्केटिङ’ गरिएको बताए ।

टोड्के र झिँका बासिन्दाहरूले टोड्के विकास कोष गठन गरी दुई पटक गुराँस महोत्सव आयोजना गर्नुका साथै पदमार्ग, सडक निर्माण र निजी क्षेत्रको लगानी भित्र्याउन अगुवाइ गरेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्