Nic Ad Nic Ad
Nic Ad Nic Ad

भकुन्डेबेंसीबाट तिमाल खैरेनीहुँदै बीपी राजमार्ग निस्कने वैकल्पिक सडक सञ्चालन

शनिबार, असोज १९, २०८१

सिन्धुली- काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनीहुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा पुलबाटबाट सुनकोसी नदी पार गरी बीपी राजमार्ग निस्कने छोटो दुरीको वैकल्पिक सडक आजबाट सञ्चालनमा आएको छ ।

भकुन्डेबेंसीबाट तिमाल खैरेनी हुँदै मध्यपहाडी राजमार्ग भएर सित्खासम्म आइपुग्न करिब ३५ किलोमिटर दुरी रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले जानकारी दिएका छन् ।

धुलिखेलबाट भकुन्डेबेंसी २५ किलोमिटर र भकुन्डेबेंसी–सित्खा ३५ किलोमिटर गरी ६० किलोमिटरमा एकतर्फी सञ्चालनमा रहेको सडक सुनकोसी गाउँपालिका-३ को बीपी राजमार्गमा जोडिन्छ । रामेछाप र सिन्धुलीको सीमानाको सुनकोसी नदीको पक्की पुल सञ्चालनमा छ ।

राज्यमन्त्री तामाङ बीपी राजमार्ग भएर सित्खाहुँदै सोही रुट प्रयोग गरेर काठमाडौं जानका लागि यात्रारत छन् । मोटरसाइकल र साना सवारीका लागि सडक खुलिसकेको र भोलिबाट यात्रुसवाहक बस सञ्चालनमा आउने राज्यमन्त्री तामाङको भनाइ छ ।

खुर्कोट–नेपालथोक खण्ड अन्तर्गत बीपी राजमार्ग भएर खुर्कोटबाट सित्खा पुग्नको लागि २० किलोमिटर छ । भकुन्डेबेंसीबाट बीपी राजमार्ग भएर खुर्कोट पुग्न ५९ किलोमिटर छ भने तिमाल हुँदै खुर्कोट पुग्न ५५ किलोमिटर मात्रै छ । यता बीपी राजमार्ग अन्तर्गत नेपालथोक–धुलिखेल खण्डमा अस्थायी सडक निर्माण जारी छ ।

काभ्रेको मंगलटारसम्मको ८ किलोमिटर सडक आजै दिउँसोसम्ममा सञ्चालन हुने स्थानीयले जनाएका छन् । दोलखाबाट रामेछाप हुँदै बीपी मार्गमा जोडिने सडकमा पहिरो गएर अवरुद्ध भएकाले साना सवारीका लागि भकुन्डेबेंसी–सित्खा सडक उपयुक्त हुनसक्छ ।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्