Nic Ad Nic Ad
Nic Ad Nic Ad

गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँच बुँदे सहमति, अनशन तोडियो

शनिबार, असोज १९, २०८१

काठमाडौँ- विगत एक महिनादेखि हवाई उद्धार प्रभावकारी बनाउन हवाई एम्बुलेन्सको माग गर्दै काठमाडौँको शान्तिवाटिका अनशन बसेका तेह्रथुमका दीपक सिलवालले आजदेखि अनशन तोडेका छन् ।

गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र सिलवालबीच आज पाँच बुँदे सहमति भएसँगै उनले अनशन तोडेका हुन् । गृह मन्त्रालयमा आज आयोजित एक समारोहबीच गृह मन्त्री रमेश लेखकले उनलाई जुस पिलाएर अनशन तोडेका हुन् ।समारोहमा गृह मन्त्री लेखकले सिलवालले उठाएको विषय गम्भीर र महत्त्वपूर्ण रहेको बताउँदै सहमति कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिए। सरकारको पनि ध्यानाकर्षण गराउने उद्देश्यका साथ अनशन बसेर सिलवालले लोकतन्त्रको असल अभ्यास गरेको भन्दै मन्त्री लेखकले प्रशंसा गरे। उनले भने “आमाहरू, तिनका सन्तानहरूको जीवन जोगाउनका लागि जुन तपस्या गर्नुभयो र हामीलाई झक्झक्याउनुभयो र हाम्रो ध्यान गम्भीरतापूर्वक आकर्षण गराउनुभएको छ, तपाईँलाई धन्यवाद छ ।”

गृह मन्त्री लेखकले अहिले सरकारले दिइरहेको सेवाले सबै ठाउँलाई समेट्न नसकिएको अवस्थामा त्यस्तो हुँदैन र सबै पीडामा रहेकाहरूको उद्धार गर्नुपर्छ भनेर उनले राखेको माग जायज भएको पनि बताए। हवाई उद्धारसँग सम्बन्धित कार्यविधिलाई संशोधन गरेर सिलवालले उठाएको कुरालाई समावेश गरी अघि बढ्ने पनि उनले प्रतिबद्धता जनाए । उनले लोकतान्त्रिक ढंगले गरिएको दीपक सिलवालको दबाब शान्तिवादी अभ्यास भएको प्रतिक्रिया दिए।

उक्त कार्यक्रममा गृह मन्त्रालयका सूचना अधिकारी तामाङले यसअघिको हवाई उद्धारको समीक्षा गर्दै आपत्कालीन हवाई उद्धारलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयले आवश्यक स्रोत, साधन तथा प्रतिबद्ध संयन्त्रको व्यवस्थापन गरी थप प्रभावकारी बनाउनेलगायत पाँच बुँदे सहमति भएको जानकारी दिए। 

हिजोको छलफलबाट सहमति गरी आज औपचारिक रूपमा हस्ताक्षर भएको जानकारी गराउँदै उनले सहमतिसँगै आजैका मितिबाट सिलवालको अनशन पनि अन्त्य भएको जानकारी दिए। 

कार्यक्रममा एक महिना अनशन बसेका सिलवालले आफ्नो माग हवाई एम्बुलेन्स नै रहेको जानकारी दिँदै अहिलेको हवाई उद्धार प्रभावकारी नभएकोतर्फ गृह मन्त्री लेखकको ध्यानाकर्षण गराएका थिए। उनले सके हरेक प्रदेशमा एक/एक वटा नसके कम्तीमा पनि चार ठाउँमा हवाई एम्बुलेन्स राख्न जरुरी रहेको औँल्याए।

उनलाई सहयोग गर्दै आएका पूर्वप्रदेश सांसद नरोत्तम वैद्यले तत्काल कार्यविधि संशोधन गरेर हवाई उद्धार प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले यो सहमति कागजमा मात्रै सीमित हुन नहुनेमा जोड दिए।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्