Nic Ad Nic Ad
Nic Ad Nic Ad

खाद्य स्वच्छता क्षमता विकास तालिमको तेस्रो संस्करणमा मिठाई व्यवसायी

आइतबार, असोज २०, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले शुक्रबार मिठाई व्यवसायीका लागि मिठाईजन्य खाद्य स्वच्छता सम्बन्धी तालिम आयोजना गर्‍यो । पर्व विशेष खानेकुराहरुको स्वच्छताका बारेमा व्यवसायीलाई प्रचलित व्यवस्था, मापदण्ड, अभ्यास र हुनु पर्ने अवस्थाका बारेमा ज्ञान, सिप र क्षमता अद्यावधिक गरेर खानेकुराको स्वच्छता सुनिश्चित गर्ने क्रमको यो तेस्रो संस्करण हो । तालिमका लागि २११ व्यवसायीलाई बोलाइएकोमा १६२ जना सहभागी भए ।  

तालिम ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रमअन्तर्गतको हो । स्वच्छ खाना : उत्कृष्ट व्यापार (सेफर फुड : वेटर विजनेस) सोच राखेर थालिएको तालिममा खाद्य सेवामा अत्याधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रलाई छान्ने गरिएको छ । यसको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका ३ सय जना सञ्चालकलाई तालिम दिइयो । दोस्रो संस्करणमा दशैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम दिइएको थियो । दशैँ लगत्तै आउने तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यबस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा तालिम दिइएको हो । दरबार हाइस्कूलमा सम्पन्न तालिममा मिठाई व्यवसायमा योगशील, यसको सही र गलत प्रयोग, गलत प्रयोगबाट हुने नोक्सानी, मिठाई स्वच्छताका जोखिम, प्रदूषणको रोकथाम, स्वच्छता र सरसफाइ, लेभलिङ्, भण्डारण, नियमन, उत्पादन गर्ने तथा विक्री गर्ने स्थान, संरचना, सुविधा, भण्डारण अभ्यास, स्वच्छता मूल्याङ्कन योजनालगायत विषयमा कक्षा सञ्चालन गरिएको थियो । 

खाद्य स्वच्छतामा सरसफाइको स्थान र स्तरीकरण, व्यावसायिक संरचनाको न्युनतम सुविधा तथा मापदण्ड, क्रस कन्टामिनेसनको रोकथाम, सही व्यवस्थापन नहुँदा मिठाईबाट उत्पन्न हुन सक्ने जोखिम, हाइजिन रेटिङ् र प्रमाणीकरण, प्रचलित कानुनी व्यवस्था (मापदण्ड, व्यवस्था पालना नगर्दा हुने क्षति, दण्ड तथा जरिवाना) जस्ता विषयमा ज्ञान अद्यावधिक गर्ने कक्षा सञ्चालन गरिएका थिए । सरसफाइ र स्वच्छतासँगै शत्रु जीवबाट मिठाई, मिठाई बनाउने कच्चा पदार्थ तथा मिठाई बनाउने ठाउँको सुरक्षा, कार्यमैत्री वातावरण, फुड फ्लो (प्राप्त गर्ने, भण्डारण गर्ने, पकाउने र सर्भ गर्ने) को अवस्था, कच्चा पदार्थ सफा गर्ने, भण्डारण गर्ने र पकाउने ठाउँको मापदण्डका बारेमा अन्तरक्रियात्मक प्रस्तुतिकरण भएको थियो । 

खाद्य स्वच्छता मूल्याङ्कन र प्रमाणीकरण
मिठाईजन्य खाद्य पदार्थमा स्वच्छताको पारदर्शिता सुनिश्चित गर्न अनुगमन मूल्याङ्कन प्रणाली स्थापना गर्ने महानगरपालिकाको योजना हो । यसले व्यवसायीलाई जवाफदेही बनाउँछ । स्वच्छता मापदण्डहरूका बारेमा जानकारी प्रदान गर्छ । उपभोक्ताहरूलाई मिठाईको स्वच्छता थाहा हुन्छ । यो ज्ञानले उपभोक्तालाई स्वच्छ बस्तुमा पहुँच बढाउँछ ।

यसो हुनु स्वच्छ व्यापारिक प्रतिस्पर्धाका दृष्टिले उपयुक्त हुन्छ । यसमा दोस्रो अथवा तेस्रो स्तरमा भएका व्यवसायीलाई पहिलो हुन सुधारको अवसर प्रदान गर्छ । ह्यान्डलिङ्, भण्डारण, तयारी, सरसफाइजस्ता खाद्य सुरक्षा र सेवा व्यवस्थापनमा प्रतिस्पर्धी बनाउँछ । उपभोक्ताले उचित मूल्यमा गुणस्तरीय मिठाई प्राप्त गर्ने वातावरण तयार हुन्छ । 

यसका लागि तालिमसँगै महानगरपालिकाले अनुगमन, निरीक्षण र मूल्याङ्कन तथा प्रमाणीकरण र स्तरीकरण कार्यक्रमलाई अगाडि बढाउने योजना बनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्