Nic Ad Nic Ad
Nic Ad Nic Ad

राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

आइतबार, असोज २०, २०८१

ललितपुर - गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उनले हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरण गर्न निर्देशन दिएका हुन् ।

“विपद्को समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एककार भएर काम गर्नुपर्छ, ललितपुरमा ४५ जनाको मृत्यु भएको तथ्याङ्क छ र सरकारले दिने रु दुई लाख राहत ३९ जनाले पाउनुभएको छ”, उनले भने, “बाँकी छ जनाले पनि तत्कालै पाउनुहुन्छ, पूर्ण रूपले घर क्षति भएका पाउन योग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउनुस्, प्राधिकरणले नाम प्राप्त गरेको तीन दिनभित्र लाभग्राहीलाई पैसा पठाउँछ ।”

नागरिकले खुला आकाश मुनि बस्न नपरोस् भन्दै गृहमन्त्री लेखकले नागरिकले प्रमुख जिल्ला अधिकारी आएपछि पानी खान पाउँछु भनेर बस्नुपर्ने अवस्था आउनुहुँदैन भने । “एकद्वार प्रणालीबाट राहात वितरण गर्ने भनिएपनि स्थानीय तहको जिम्मेवारीमा दिन सकिन्छ, सम्बन्धित पालिकाको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखेर राहत व्यवस्थापन गर्न सकिन्छ, तहगत विभाग र विद्युत्, खानेपानी र सञ्चार क्षेत्रमा जिम्मेवारीमा रहेकाहरूले समस्या पहिचान गरेर समन्वय इमानदारीपूर्वक काम गर्नुहोस्”, गृहमन्त्रीले भने ।

उनले अहिलेको संविधान कानुनले चार तहको संरचना तय गरेको बताउँदै चार वटै विपद् व्यवस्थापनका संयन्त्रहरू जोडिएर मिलेर काम गर्नुपर्छ भन्नेमा जोड दिए ।

“विपद्मा सङ्घ, प्रदेश र स्थानीय तह तीन वटै तहको विपद् व्यवस्थापन समिति मिलेर काम गर्नुपर्छ, मानिसको आवागमन खोल्ने कुरा महत्त्वपूर्ण हुन्छ, मानिस बिरामी भएको ठाउँमा चिकित्सक पुर्‍याउन पनि गाह्रो छ”, उनले भने, “जसरी भए पनि अहिले सडक खुलाउने काम गर्नुस्, जनशक्ति र साधन थपेर भएपछि टीकाभैरबको पुल सञ्चालन ल्याउनुपर्छ”, उनले भने ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले घर पूर्ण क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि प्रतिघर रु. ५० हजार उपलब्ध गराउने व्यवस्था रहेको बताए । उनले तथ्याङ्क उपलब्ध भएको तीन दिनभित्र रकम उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्