Nic Ad Nic Ad
Nic Ad Nic Ad

हेवाखोलामा ‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालनको तयारी

सोमबार, असोज २१, २०८१

ताप्लेजुङ - एक सातादेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत हेवाखोलामा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गर्ने तयारी भएको छ । गत शनिबारको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यातायात अवरुद्ध छ ।

सडक डिभिजन कार्यालय, इलामका इन्जिनियर सरोज सुवेदीका अनुसार डाइभर्सन निर्माणका लागि आवश्यक १६ वटा ‘ह्युम पाइप’ प्राप्त गरी शनिबार बिहानैदेखि काम भइरहेको छ । यातायात अवरुद्ध हुँदा चाडपर्वमा घर जानआउन सर्वसाधारणलाई सास्ती भएको छ भने ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने भक्तजनको सङ्ख्या घटेको छ । गत वर्ष पनि बाढीले यहाँको पक्की पुल बगाएको थियो । त्यसपछि सडक विभागले बेलिब्रिज निर्माण गरी यातायात सञ्चालन गरेको थियो ।


पाँचथरको फिदिम नगरपालिका र सुरक्षा निकायले फड्के निर्माण गरेर पैदल यात्राका लागि बाटो खोलेका छन् । यातायात अवरुद्ध हुँदा सबैभन्दा धेरै ताप्लेजुङको जनजीवन प्रभावित भएकाले तत्काल यातायात सञ्चालन गर्न पाँचथरसहित सम्बन्धित निकायसँग सहकार्य र समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्