Nic Ad Nic Ad
Nic Ad Nic Ad

अरु दलप्रति किन आक्रामक छैनन् प्रचण्ड? रविबारे तटस्थ हुनुको राजनीतिक कारण

सोमबार, असोज २१, २०८१

काठमाडौं– राजनीतिमा जुनसुकै बेला जस्तो गोरेटो र घुम्तीको यात्रा गर्न माहिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गुमे पनि अन्य दलप्रति त्यति आक्रामक देखिएका छैनन्। 

सत्ता लडाएको तालमा सुरुका दिनमा एमाले र हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आक्रामक बने पनि अहिले नरम छन्। नेपाली कांग्रेसका सभापतिप्रति त उनको कुनै पनि नकारात्मक टिप्पणी छैन भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका विषयमा पनि नरम छन्। 

‘अहिले म धेरै नकारात्मक कुरा गर्ने पक्षमा त छैन तर सरकारले विपदमा सोचेजस्तो काम गरेको छैन’, चितवनमा पत्रकारसँग प्रचण्डले आइतबार भनेका थिए,‘अहिले उद्दार र राहतको काममा नै सरकारलाई सहयोग गर्न आवश्यक छ।’

उनको यो भनाई चलिरहँदा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोली माओवादीको सुझावपत्र बोकेर प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको थियो। 

प्रचण्ड सदनमा भएका दल मध्य सहकारी विवादमा आएका रास्वपा सभापति रवि लामिछानेप्रति पनि तटस्थ तर्कमा उभिएका छन्। उनले भने,‘मैले क्लिन चिट दिएको छैन। आएको सूचनाको आधारमा सदनमा उभिएर रविबारे बोलेको थिएँ। तर, अहिले संसदीय समितिले पनि सिधा सहकारी ठगी गरेको नभने पनि गोरखा मिडियाका सन्दर्भमा सरकार र कानुनले काम गर्ला।’

प्रचण्ड सदनमा भएका राजनीतिक शक्तिसँग मात्र होइन त्यसभन्दा बाहिरका स्वतन्त्र निर्वाचितका विषयमा पनि नरम छन्। उनले हर्क साम्पाङ र बालेन शाहलाई त गणतन्त्रका सुन्दर फूल भनेर टिप्पणी गरेका थिए। 

सदनमा खुम्चिरहेको माओवादी र आफ्नो राजनीतिक भविष्यका लागि पनि प्रचण्डले अहिले चलिरहेको हावालाई हेरिरहेका छन्। त्यो राजनीतिक हावामा उनका अपेक्षाका केही कारणहरू छन्। 

आगामी निर्वाचनमा गोरखा–२ मा प्रचण्डलाई चुनाव लड्न मुस्किल हुन सक्छ। किनभने सो क्षेत्रमा डा. बाबुराम भट्टराई उठ्नेछन्। प्रचण्ड चितवन फर्किनुपर्ने स्थिति छ। या, नयाँ निर्वाचन क्षेत्र रोज्नुपर्ने हुन सक्छ। त्यसबेलासम्मको राजनीतिक अवस्था र हावा कतातिर जाला भन्ने परखमा छन्, प्रचण्ड।

यसैकारण पनि अरु दलसँग धेरै आक्रामक छैनन् भने चितवनलाई मध्यनजर गरी रवि लामिछानेबारे तटस्थ तर्क गरिरहेका छन्।

१० बर्षसम्म सशस्त्र युद्ध हाँकेका प्रचण्ड राजनीतिमा दुई लाइन संघर्षमा टिकेर आएको तथा सत्ता साझेदारीमा पनि गठबन्धनहरू बनाउने र भत्काउने सन्तुलन गर्न सक्षम छन्। त्यसैले समयअनुसार उनको ‘मुभ’ कस्तो हुनेछ, हेर्न बाँकी छ।
 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्