Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल प्रहरी र सशस्त्रका एक–एक जना जवानको दुर्घटनामा मृत्यु

सोमबार, असोज २१, २०८१

बिराटनगर– नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक गरी दुई जवानको सवारी दुर्घटनामा ज्यान गएको छ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक साँझ ६ः४० बजेतिर कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ।

यस्तै, कोशी राजमार्गको बूढीगंगामा मिक्सचर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरीका जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको छ ।

बूढीगंगा गाउँपालिका– ४ गोकुवा चोकमा प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले दिउँसो १ः४० बजेतिर ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान तामाङको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत अर्का जवान ३० वर्षीय युशन राई घाइते भएका छन्।
 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्