Nic Ad Nic Ad
Nic Ad Nic Ad

महानगरको अनुगमनः १० दिनमा १३० पसलमा छड्के, २२ वटामा म्याद गुज्रिएका सामान भेटिए

सोमबार, असोज २१, २०८१

काठमाडौँ–  काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिनमा १३० पसलमा अनुगमन गरेको छ। असोज १० गतेदेखि २० गतेसम्म अनुगमन गरिएको महानगरले जनाएको छ। 

बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चावहिल, मैजुवहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिए। ८२ वटा पसलमा देखिने गरी मूल्य सूची राखिएको थिएन । 

यस्ता पसललाई देखिने गरी सूची राख्न लगाइएको महानगरले जनायो। ६२ वटाको व्यवसाय दर्ता थिएन। यस्ता व्यवसायीलाई ७ दिनभित्र व्यवसाय दर्ता गर्न समय दिइएको छ। यसरी समय दिएकामध्ये १ जनाले दर्ता गरिसकेका छन्। 

चाडपर्वमा फलफूल, माछामासु, दूध तथा दुग्ध पदार्थको धेरै प्रयोग हुन्छ। यसबेला तौल र गुणस्तरका आधारमा मूल्यमा ठगी हुन सक्छ। अनुगमनका क्रममा मूल्य सूची नराख्नु, खरिद विक्री विलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएका छन्। 

पसलमा बेच्न राखिएका सामानहरुमध्ये प्याकेजिङ् गरिएका जुस, कुकिजलगायत विस्कुटहरु, चकलेट, भुजिया, घिउ, अचार, विभिन्न खालका मसलाहरु, भिनेगर, केचअप जाम जस्ता खाद्य तथा पेय पदार्थमा गुणस्तरको समस्या देखिएको छ। 

अनुगमनका क्रममा विक्रीका राखिएका खाद्य सामग्री तथा पेय पदार्थको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्य जस्ता पक्ष हेर्ने गरिएको छ। त्यस्तै पसलमा म्याद गुज्रिएका सामान राख्ने ठाउँको व्यवस्था, विक्री कक्षको प्रबन्ध, खरिद तथा विक्री बिल, दर्ता तथा नविकरण जस्ता सूचकका आधारमा अनुगमन गरिन्छ। 

उपभोक्ताहरुले सुलभ मूल्यमा स्वच्छ र गुणस्तरीय सामान, मालमत्ता प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले अनुगमन गरिएको हो। अनुचित व्यापारिक क्रियाकलाप रोक्नु र स्वच्छ बजारका लागि सचेतना वृद्धि गर्नु अनुगमनको लक्ष्य हो। 

फुड टेक्नोलोजिष्ट, माइक्रोबायोलोजिष्ट नेतृत्वमा रहेका ३ वटा अनुगमन टोलीले दैनिक अनुगमन गरिरहेका छन्। 

‘सुरक्षा, सुनुवाई, क्षतिपूर्ति र छनोट’ उपभोक्ताका प्रमुख ४ वटा अधिकार छन्। यी अधिकारको प्रत्याभूत गराउन महानगरपालिकाले काम गरिरहेको हो।
 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्