Nic Ad Nic Ad
Nic Ad Nic Ad

धरान मेयर राईको खानेपानी मन्त्रालयलाई आग्रह, -‘फोहोर टुंगो लगाइदिनुहोस्, खत्रा लाग्नु पर्‍यो’ 

मंगलबार, असोज २२, २०८१

धरान -धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले खानेपानी मन्त्रालयलाई कडा पत्र लेख्दै धरानको फोहोर व्यवस्थापन समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेका छन्। मेयर राईले फोहोर व्यवस्थापनका लागि व्यवस्थित ल्याण्ड फिल्ड साइड निर्माण गर्न बजेट विनियोजनको माग गरेका छन्।

मेयर राईले धरानको फोहोर व्यवस्थापनका लागि तत्कालै व्यवस्थित ल्याण्ड फिल्ड साइड बनाउन माग गर्दै मन्त्रालयलाई पुग्दो बजेट विनियोजन गर्न आग्रह गरेका छन्। पत्रमा उनले फोहोर जंगलमा अनियन्त्रित रूपमा फाल्दा समस्याहरू थपिँदै गएको भन्दै ध्यानाकर्षण गराएका छन्।


‘फोहोर बगेर तल्लो भेगमा पुग्न थालेको छ। हरेक वर्ष सुख्खा याममा फोहोरमा आगो लागेर डढेलो हुन्छ, जसले गर्दा स्थानीयवासीको जनजीवन प्रभावित भएको छ,’ मेयर राईको पत्रमा भनिएको छ।

उनले वन मन्त्रालयका अधिकारीहरूको हस्तक्षेपको पनि उल्लेख गर्दै तारघेरा हाल्ने प्रयासमा डोजर प्रयोग गरेर बनाइएको संरचना भत्काइदिएको गुनासो गरेका छन्। यस विषयमा पटकपटक पत्र पठाउँदा समेत प्रतिक्रिया नआएकोमा उनले असन्तुष्टि प्रकट गरेका छन्।

‘यो विषयमा अध्ययन गर्ने भन्छन् तर कति लामो अध्ययन हो ? जनताले सेवा र सुविधा तत्काल चाहिएको छ, तर प्रक्रिया र अध्ययनका नाममा काम अड्किएको छ,’ मेयर राईले भने।

पत्रमा मेयर राईले देशका कानुन र प्रक्रिया बाहिर जान नचाहिने तर कार्यसम्पादनमा गति र नतिजा चाहिने कुरा प्रष्टसँग उल्लेख गरेका छन्। उनले फोहोर व्यवस्थापनका लागि आवश्यक सहयोग तत्काल प्रदान गर्न सरकारलाई आग्रह गर्दै ‘सेवां ढोग गरे फेरि पनि’ भन्दै सेवाको महत्त्वलाई दोहोर्‍याएका छन्।

पत्रको बोधार्थ अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयलाई समेत पठाइएको छ। धरान उपमहानगरपालिकामा फोहोर व्यवस्थापनको चुनौती थपिँदै गएको बेला मेयर राईले संघीय सरकारलाई यो पत्र पठाएका हुन् । 


 

प्रतिक्रिया दिनुहोस्