Nic Ad Nic Ad
Nic Ad Nic Ad

जङगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मंगलबार, असोज २२, २०८१

कञ्चनपुर - बेलौरी नगरपालिका-५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा जङ्गली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय उमेश चौधरी रहेका छन् । 

गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा वडा नं ६ स्थित ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका चौधरीलाई हात्तीले आक्रमण गरेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए । 

वन क्षेत्रमा हात्ती कराएको आवाज सुनेपछि उमेशसहित २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी मोटरसाइकल छाडेर भागेका थिए । मोटरसाइकलमा सवार रोशन र नवीन सम्पर्कमा आए पनि उमेश सम्पर्कमा नआएपछि खोजतलास गर्दा उनी सामुदायिक वन क्षेत्रमा मृतावस्थामा आज बिहान फेला परेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार उमेश मृतावस्थामा फेला परेको स्थानमा जङ्गली हात्तीको दिसा रहेको र रुख मडारेको जस्तो देखिएको छ । प्रहरीले आवश्यक अनुसन्धान  गरिरहेको छ । एक साताअघि मात्र जङ्गली हात्तीको आक्रमणमा परी लालाझाडी गाउँपालिका–४ डाँडाजाइका ५९ वर्षीय रामदल रानाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्