के गर्छन् होला रामचन्द्र बुढा? भन्थे– प्रचण्ड चतुर छन्!
काठमाडौं– राजनीतिको अन्तिम इनिङ्समा पुग्दा पनि बल्ल तल्ल देशको सर्वोच्च पदमा पुगे पनि आलंकारिक अथवा संवैधानिक हुन पुगे रामचन्द्र पौडेल। उनी प्रथम नागरिक तथा देशका राष्ट्रपति हुन्।
गृहमन्त्री, सभामुख, मन्त्री पदमा बसेका उनको प्रधानमन्त्री बनेर कार्यकारी भूमिकामा आउने १७ पटकको प्रयत्न असफल भएको थियो। त्यसबेला झलनाथ खनालले बाजी मारेका थिए।
कांग्रेसको आन्तरिक राजनीतिमा उपसभापति र बरिष्ठ नेतासम्म मात्र भएका पौडेल सभापति हुन पाएनन्।
शितल निवास स्रोतका अनुसार अहिले उनी त्यहाँ फूल खेलाउँछन् अनि औपचारिक समारोहमा मात्र व्यस्त हुन्छन्। बाहिर टहलिन मन लागे केही धार्मिक शक्ति पिठसम्म पुग्छन्। अन्यथा नेपाली सेनाको चौघेराभित्र उनको बास हुन्छ।
‘थाहै छ होला नि, राष्ट्रपति राजनीतिक कार्यक्रममा जाने पद होइन। उहाँ विदेशी नियोग प्रमुखलगायत आएको बेला शिष्टाचार भेटको कार्यक्रममा व्यस्त हुने हो’, शितल निवास स्रोतले भन्यो,‘अनि बजेटको नीति कार्यक्रम र केही सम्बोधनबाहेक के नै भूमिका होला र? घर बसेजस्तो भा’छ, उहाँलाई।’
पौडेल सँधै कार्यकारी भूमिका र पदका निम्ति सक्रिय भए। तर, शेरबहादुर देउवाले कांग्रेस सभापतिमा जित निकालेपछि उनको भूमिका पनि बिलखबन्धनमा अड्कियो। अर्को पटक सभापति बन्छु भन्दा शेखर कोइरालाले नदिएपछि देउवासँग सम्झौता गरेर राष्ट्रपति पदमा जान बाध्य भए।
यदी सरकार गठनका बेला एमाले र माओवादीबीच भएको सहमति अक्षरस कार्यान्वयन भएको भए पौडेल उक्त पदमा पुग्ने थिएनन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चतुर खेलले पौडेल राष्ट्रपति भए। उनी आफैं प्रचण्डबारे भन्थे,‘प्रचण्ड भनेकै चलाख खेलाडी हो।’
गिरिजाप्रसाद कोइराला हुँदा कांग्रेसमा मात्र होइन सत्तामा पनि कार्यकारी भूमिकामा पुगेका थिए, पौडेल। यहाँसम्मकी माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति तथा पुननिर्माणमन्त्रीसहित कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका पौडेलको राजनीति त्यतिबेला आलंकारिक जस्तो बन्यो जतिबेला कोइरालाले संसार त्यागे।
यसपछि कांग्रेस राजनीतिमा पौडेलको भूमिका खासै प्रभावकारी भएन। सुशील कोइराला बितेपछि पौडेलको कथन थियो,‘कांग्रेसभित्र कोइरालाको लिगेसी भनेकै म हो।’
तर शेखरका कारण उनले त्यो लिगेसी नपाए पनि अहिले राष्ट्रपतिको भूमिकाचाहिँ पाएका छन्।