Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढी प्रभावित क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा सहज बन्दै

मंगलबार, असोज २२, २०८१

काठमाडौँ- यही असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले अवरुद्ध भएको टेलिफोन र इन्टरनेट सेवा सहज बन्दै गएको छ । बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न जिल्लामा खम्बा ढल्ने, तार चुँडिनेलगायत कारणले अवरुद्ध टेलिफोन सेवा मर्मतपछि सहज बन्दै गएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका प्रवक्ता हरि ढकालले भने, “काठमाडौँ, भक्तपुर, धादिङ, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ र पाँचथरलगायत बाढी प्रभावित जिल्लामा केही समय अवरुद्ध भए पनि अहिले सेवा सञ्चालन भइसकेको छ । बिजुली नभएकाले काभ्रेपलाञ्चोक र ललितपुरका केही स्थानमा सञ्चालन हुन बाँकी सेवा यथाशीघ्र सञ्चालनका लागि प्रयास भइरहेको छ ।”

बाढी, पहिरो र डुबानपछि सरकारले इलाम, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, नुवाकोट, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडीलगायत २१ जिल्लालाई प्रभावित जिल्लाका रूपमा राखेको थियो ।

टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असोज १० देखि १२ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी, पहिरो र डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब रु. ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आँकलन गरिएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रूपमा नआइसकेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । टेलिफोन सेवा प्रदायक दुई कम्पनी दूरसञ्चार (एनटिसी) र एनसेल आजिअटा लिमिटेड ९एनसेल० को मात्र करिब रु. २२ करोड बराबरको क्षतिको अनुमान गरिएको छ ।

“एनटिसीको करिब रु. १५ करोड र एनसेलको करिब रु सात करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । हालसम्म १५ इन्टरनेट सेवा प्रदायकबाट विवरण संलग्न भइसकेको छ । ती कम्पनीको करिब रु. साढे सात करोड बराबरको क्षति भएको हुनसक्ने प्राधिकरणको भनाइ छ ।

नेपाल टेलिकमले नेपालीको महान् चाड दसैँ, तिहार तथा छठलगायतका विभिन्न पर्वका अवसरमा आफ्ना ग्राहकका लागि दसैँ अफर उपलब्धसमेत गराएको छ । टेलिकमका प्रवक्ता ढकालका अनुसार असोज १३ देखि अगामी कात्तिक २३ सम्म दसैँ अफर उपलब्ध गराइनेछ । सो अफरअन्तर्गत सहुलियत दरका ‘भ्वाइस’, ‘डाटा’ तथा ‘एफटीटीएच’का ‘प्याकेज’ हरू आजदेखि प्रारम्भ भई आगामी कात्तिक २३ गतेसम्म उपलब्ध हुनेछन् ।

यस अफरअन्तर्गत साविकका एफटिटीएचका प्याकेजमा साविककै मूल्यमा थप ‘ब्याण्डविथ’ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबिपिएस गतिका एफटिटिएच डाटा कम्बो प्याकेजमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबिपिएस ब्याण्डविथ कायम गरिएको टेलिकमले जनाएको छ ।

यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवं प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहने प्रवक्ता ढकालले बताए । साथै एफटिटिएच नयाँ जडानमा जडान शुल्क रु. ५०० मिनाहा समेत गरिएको छ । यसैगरी दसैँ अफरअन्तर्गत नै जिएसएम सेवाका ग्राहकका लागि रु. ७९९ मा अल नेट ‘अनलिमिटेड भ्वाइस’ सुविधा, ४५ जिबी डाटा र ५०० ‘अल नेट एसएमएस’ सुविधासहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको कम्पनीमार्फत जनाएको छ ।

अविरल वर्षा हुँदा बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बनेको इन्टरनेट सेवा सहज बन्दै गएको प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले जानकारी दिए । उनले भने, “पछिल्लो समयमा भएको बाढी, पहिरो र डुबानका कारण बिजुलीको खम्बा ढलेर र तार चुँडिएर केही जिल्लामा केही समय इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको थियो, तर अहिले बाढी र पहिरोका कारण खम्बा ढलेर बिजुली नभएको ठाउँभन्दा अन्य सबै जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा सञ्चालन भइरहेको छ ।”

उनका अनुसार काभ्रेपलाञ्चोक र ललितपुरका कुनै कुनै ठाउँमा बिजुलीको खम्बा ढलेका कारण इन्टरनेटमा समस्या देखिएको र त्यसलाई पनि सकेसम्म दसैँ अगावै समाधान गर्न प्रयास भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्