Nic Ad Nic Ad
Nic Ad Nic Ad

'नरूचाइएको सुपरस्टार'

बुधबार, असोज २३, २०८१

"गाह्रो छ । अति गाह्रो छ । बिउको दाना हेरेर कसैले यसको फूल यस्तो हुन्छ भनेर भरोसा गर्न गाह्रो छ । हामीलाई हिलो थाहा हुन्छ । त्यस्तो हिलोमा कसरी कमल फूल्न सक्छ ? पक्कै भ्रम होला । भ्रान्ति होला । झुक्याइएको होला । यस्तो तर्क गर्छन् ।" प्रसिद्ध गुरू ओशोको एउटा प्रवचनमा प्रसंग छ ।

परिवर्तनलाई मानिसहरूले स्विकार्न कति गाह्रो हुन्छ भन्नेबारेमा ओशो थप भन्छन्, "मैले थाहा पाइरहेको मान्छे त हो । हिजो अस्तिसम्म यहि गल्लीमा हिड्थ्यो । हामीसँगै थियो । हामी जस्तै थियो । यस्तो विशेष कसरी हुन्छ ? झुक्याइरहेको छ । गफ दिइरहेको छ । म चिन्छु उसलाई भन्छन् । उनीहरूलाई भरोसा नै हुदैन कि यो यस्तो हुनै सक्दैन । "

वास्तवमै विज्ञानले पनि पत्ता लगाइसकेको कुरा छ, कुनै पनि वस्तुले परिवर्तनको प्रतिरोध गर्छ । विज्ञानमा यसलाई इनर्सिया भनिन्छ । सामाजिक चेतको पनि इनर्सिया हुन्छ भन्नेबारेमा हामीले भोगेकै कुरा हो । सोही बिषयमा ओशोले भनेको प्रसंग माथि उठिसकेको छ । 

यस्तै कारणहरूले कुनै मानिस अलिकति अगाडि बढ्यो भने उ अगाडि बढेको छ भन्ने मान्नमा केहि मानिसलाई समय लाग्छ, उर्जा लाग्छ । निकै अगाडि बढेको छ भने, सफल भएको छ भने उसको सफलतालाई आत्मसाथ गर्न, पचाउन तिनलाई गाह्रो हुन्छ । यसैले सफल भएका व्यक्तिका बारेमा पनि धेरैका भनाईहरू हुन्छन्, 'अस्तिसम्म यस्तो गर्थ्यो ।', 'नचिनेको मान्छे हो र ? आन्द्राभुँडी सब थाहा छ ।', 'जान्नुतान्नु होइन, मुखैमात्र त हो ।', 'कहाँ कसले गरिदियो नि !' यस्तै यस्तै । 

त्यसपछि उसले बोलेका कुरा, गरेका सामान्य व्यवहार र हिड्ने तरिकामा पनि मान्छेहरूले अतिरञ्जित गर्छन् र ठुलो पल्टिएको, घमण्डी भएको अर्थ लगाउँछन् । नकारात्मकता बाढ्छन् । रिसाउँछन् । सामान्य भाषामा भन्दा खुट्टा तान्छन् । 

तर केहि मान्छेले रोक्दैमा केहि कुराहरू रोकिदैनन् । र, समाज भनेको बोल्ने, देखिने र प्रतिक्रिया दिनेको मात्रै पनि होइन । नबोल्ने, बाहिर नदेखिने र मौन बस्नेहरूले पनि समाजलाई डोहोर्याइरहेका हुन्छन् । तिनले आफ्नै तरिकाले सामूहिक प्रयासबाट नयाँ कुराहरू स्थापित गराइरहेका हुन्छन् । 

समाजमा प्रबुद्ध भन्नेहरूले नरूचाउने तर आममानिसले असाध्यै प्रेम गर्नेहरूको संख्या कम छैन । फिल्म क्षेत्रमा झन् स्पष्ट देखिन्छ कि राम्रो समिक्षा पाएका फिल्महरू हलमा दर्शक तान्न सक्दैनन् । तर फिल्म समिक्षकले राम्रो नभनेका फिल्म हेर्न दर्शकहरू ओइरिएका छन् । आममानिसहरूको रोजाइ र रूचि नबुझ्दा खेरि फिल्म समिक्षकहरूको प्रक्षेपण गलत हुने हो । र, बन्ने हुन् 'स्तर नभएका हिट फिल्म' । र, बन्ने हुन्, 'नरूचाइएको सुपरस्टार' ।

अहिलेको समयमा ठ्याक्क हेर्ने हो भने दिपकराज गिरी त्यस्तै एक 'नरूचाइएको सुपरस्टार' हुन् । उनले बनाएका फिल्महरू छ एकान छ, वडा नम्बर छ, छ माया छपक्कै, छक्का पञ्जा, छक्का पञ्जा २, छक्का पञ्जा ३, छक्का पञ्जा ४ गरि सातवटै फिल्म दर्शकले अत्याधिक रूचाए । यी हरेक फिल्मसँग नेपाली ठुला ब्यानरका भनिएका फिल्म होस् वा हिन्दी फिल्महरू जुधे तर त्यसमा दिपकराजका कुनै पनि फिल्मले दर्शक कम तानिएको देख्न परेन । बरू उल्टो कतिपय फिल्महरू हलबाट चाँडो उत्रिनु पर्यो । 

dipak-raj-giri-1728456640.jpg
८ वटा फिल्मले करिब एक अर्बको बिजनेश गरिसक्यो । छ एकान छबाट शुरू गर्दा जोकरहरूको फिल्म भनियो । वडा नम्बर ६ आउँदा गीतले फिल्म नै चलाइदियो भनियो । छक्का पञ्जाको गीत राम्रो र सँगै आएका फिल्महरू नराम्रो भएकाले चल्यो भनियो । श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म कोहिनूरले १० करोडको व्यापार गरेको थियो । नेपाली फिल्म क्षेत्रका लागि नै त्यो किर्तिमान थियो । त्यसमा दर्शकको सेन्टीमेन्ट जोडिएको थियो तर छक्का पञ्जाले निन्तान व्यवसायीक बनेर १५ करोड कमाइदियो । 

छक्का पञ्जा २ आउँदा सिक्वेल भएकाले मात्र चलेको थियो । छक्का पञ्जा सिरिजमा सबै भन्दा कमजोर भनिने त्यो फिल्मले पनि १५ करोड कमाइदियो । 

छक्का पञ्जा ३ सँग जय भोले जुध्यो । छक्का पञ्जा ३ लाई राती १० बजेको सो दिइएको थियो । त्यो सो पनि हाउस फुल भयो । यसले १७ करोडको बिजनेश गर्यो । छक्का पञ्जा भन्दा बाहिरको फिल्म बनाउन र चलाउन सक्दैनन्, नामले चल्यो भनेर गिरी र टिमलाई चेतावनी दिइयो । उनीहरुले छ माया छपक्कै बनाए । त्यो फिल्म पनि ब्लकबस्टर भयो । 

त्यसपछि शुरू भयो, आफ्नै ब्यानरमा मात्रै हो । अरूले प्रस्ताव गर्दैनन् र गरे पनि फिल्म चल्दैन । दिपकराज गिरीले आफ्नो ब्यानर बाहिरको शत्रुगते फिल्म खेले । त्यो पनि ब्लकबस्टर भयो । 

त्यसपछि पनि दिपकराज गिरीलाई दर्शकको सुपरस्टार मान्न तयार नहुनेहरूले कारण निकालेर भने, दशैँले गर्दा हो सबै हिट भएको । छक्का पञ्जा ४ फागुनमा आउने भयो । त्यो अर्का सुपरस्टार अनमोल केसीको छड्के २ सँग जुध्यो । तर छक्का पञ्जा ४ ले १८ करोडको व्यापार गर्यो ।

अहिलेको अवस्था कस्तो छ भने नेपाली फिल्म क्षेत्रका सबै फिल्महरूले १०० रूपैया कमाउने हो भने छक्का पञ्जाले मात्र त्यसमा २५ रूपैयाको योगदान दिइरहेको छ । ४० बर्ष काटेपछि फिल्ममा नायकको भुमिकामा देखिन थालेका दिपकराज गिरीले अहिलेका पुस्ताका प्रदिप खड्का, अनमोल केसी, पल शाहहरुलाई बक्स अफिसमा माथ खुवाइरहेका छन् । 

यति हुँदा पनि उनलाई सुपरस्टारकारूपमा स्विकार्न धेरैलाई गाह्रो भएको छ । यो गाह्रोले दिपकराज गिरीलाई के कति गाह्रो बनाएको छ भन्ने गिरी नै जानून्, तर नेपाली फिल्म क्षेत्रलाई भने दुरगामीरूपमा गाह्रो बनाउँनेछ । यति गर्दा पनि सम्मान गर्न सक्ने समाज बनिसकेको छैन भने हाम्रो चेतनालाई नै गाह्रो बनाउनेछ ।

अहिले छक्का पञ्जा ५ रिलिज हुन लाग्दैछ । त्योसँगै अन्य २ नेपाली फिल्महरू १२ गाउँ र ज्वाइ साहेब पनि रिलिज हुँदैछन् । तर सबै भन्दा बढि सो पाउनेमा छक्का पञ्जा नै छ । छक्का पञ्जा टिमले लेखेका जुनसुकै फेसबुक स्टाटसमा अरू फिल्मको प्रचार ह्यारेसमेन्टकै तहमा गएर हुदैछ तर पनि छक्का पञ्जा टिमले त्यसको उस्तै किसिमको प्रतिक्रिया दिएको छैन । छक्का पञ्जा टिमले देखाएको यो परिपक्कता लोभलाग्दो छ । नेपाली फिल्मको स्वस्थ प्रतिष्पर्धाका लागि छक्का पञ्जा टिमको व्यवहार भोलिकादिनमा पनि गौरवलाग्दो बन्नेछ । 

यो पढ्दै गर्दा लाग्न सक्छ, छक्का पञ्जा टिम र त्यसमा पनि दिपकराज गिरीको बयानबाजी भयो । तर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा स्टाटसले त्यसको जवाफ दिन्छ होला । जहाँ लेखिएको छ - एक पल्ट कलाकार दिपकराज गिरीका बारेमा कुरा गरौँ । 

उनले कसैप्रति नकारात्मक धारणा राखेको देखिएको छैन । उनले खरो आलोचना समेत कसैको गरेको देखिदैन । उनले नयाँ नेपाली फिल्महरू रिलिज हुँदा आफ्नो प्रोफाइलमा सेयर गरेर प्रचारमा सहयोग गरेकै छन् । त्यसबाहेक उनी आफ्नो काम गर्छन् । कथा लेख्छन् । संवाद लेख्छन् । अभिनय गर्छन् । आफु नै खटिएर फिल्म बनाउँछन् । 

त्यसो भए यति विघ्न आलोचना हुने गरि उनले के गरेका छन् त ? उनले लगातार ८ वटा हिट फिल्म दिइसके । छक्का पञ्जा नेपाली फिल्म क्षेत्रकै एकदमै ठुलो ब्रान्ड बनेको छ । उनी र उनको टिम नेपाली फिल्म क्षेत्रको मिनी इन्डस्ट्री नै हो । उनले फिल्म बनाएरै करोडौँ कमाए । सयौँलाई प्रत्यक्ष र हजारौँलाई अप्रत्यक्ष काम दिएका छन् । अन्य देशका फिल्म क्षेत्र भए यस्तो कलाकार र टिमको सम्मान र संरक्षण नै फरक हुन्थ्यो । तर नेपालमा भने उनले पाएको सफलता देखेर कतिपयलाई उनको अनुहार देख्दै मन पर्दैन । टिम त्यति मिलेर काम गरेकोमा डाह भएको छ । उनले जति गाली र आलोचना पाएका छन्, त्यसको एकप्रतिशत पनि उनी हकदार होइनन् ।

नेपाली समाज कतिसम्म नकारात्मक भएको छ भन्ने पछिल्लो उदाहरण हो, कलाकार दिपकराज गिरीमाथि हुने आलोचना । नेपाली समाज गरिब छ, बिरामी छ, दुखी छ भने जति पनि सहयोग गर्न सक्छ । तर सफल छ भने बिनाकारण आलोचना गर्न र खुट्टा तान्न प्रयासरत रहन्छ । यो त पटक्कै राम्रो सन्देश होइन ।

यसैले दर्शकलाई मनोरञ्जन दिन, आमदर्शकको रोजाइको नाडी छाम्न सक्ने फिल्मकर्मीमा अहिलेसम्म दिपकराज गिरी जत्तिको फिल्मकर्मी नेपालमा सायदै छ । नेपाली फिल्म क्षेत्रलाई यति ठुलो योगदान दिएका दिपकराज गिरीहरूप्रति सहानुभूति र सम्मान हुनै पर्छ । उनी जस्ता निर्माता र कलाकारलाई दुर्व्यवहार हुन थाले, उनीहरूका पक्षमा बोल्नै पर्छ, लेख्नै पर्छ । बाँकी त फिल्म हो, राम्रो भए चल्छ, नराम्रो भए चल्दैन । 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्