चाडपर्वमा सुरक्षित यातायातका लागि पोखरामा निःशुल्क बस सेवा, सात रुटमा १८ बस सञ्चालन
पोखरा- दशैंको समयमा जनतालाई सुरक्षित, सहज र मर्यादित यातायात सेवा प्रदान गर्न पोखरामा निःशुल्क बसहरू सञ्चालन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय, पोखराको समन्वयमा महानगरपालिका र यातायात व्यवसायीको सहकार्यमा १८ वटा बसहरू सञ्चालन हुने भएका हुन् ।
चाडपर्वको समयलाई मर्यादित र सुरक्षित बनाउन विभिन्न कार्यक्रमहरू लागू गरिएका छन्, जसमा डग सहितको चेकिङ, बजार अनुगमन, सवारी साधनको चेकजाँच, र यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय पोखराले जनाएको छ । पोखरामा जनसङ्ख्याको आधारमा यात्रुहरूको संख्या धेरै हुने भएकाले चाडपर्वको समयमा सवारी साधनको व्यवस्थापनमा विशेष ध्यान दिइएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रशासनलाई जानकारी दिए । अन्य समयमा भन्दा सुरक्षाका दृष्टिकोणले आवश्यक ठानिएको बखतमा मात्र जनतालाई हैरानी नहोस् भनेर सुरक्षा योजना र नियमनका संयन्त्रहरू तयार पारिएको प्रजिअ पाण्डेको भनाई छ । चाडपर्वमा यात्रुहरूको भीड हुने भएकोले विभिन्न उपायहरू मार्फत यातायातलाई थप व्यवस्थित गर्न खोजिएको हो।
पोखरा महानगरपालिका भित्रका सात रुटहरूमा १८ वटा निःशुल्क बसहरू बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गरिनेछ। उक्त बस सेवाहरू पृथ्वी राजमार्ग बस सञ्चालक समितिबाट फेदी, हेम्जा, हरिचोक, पृथ्वीचोक हुँदै तीन वटा बस, कोत्रेदेखि बागलुङ बसपार्कसम्मका दुई वटा बस, पोखरा यातायात प्रा। लि। बाट लामाचौर, बगर, महेन्द्रपुल, छोरेपाटन हुँदै नौ वटा बस, र बेगनास तालदेखि पोखरा बजार जोड्ने गरी चार वटा बस सञ्चालन गरिनेछन्।
दशैंको समयमा अन्य वर्षमा सार्वजनिक सवारी साधनको कमी हुने गरेको हुँदा यस पटक निःशुल्क बस सेवा सञ्चालन गरेर यात्रुहरूलाई राहत दिने प्रयास गरिएको हो। विशेष गरी, साबिकको लेखनाथ नगरपालिकाको बस्ती र पोखरा बजार जोड्ने बस सेवा मार्फत यात्रुहरूको आवागमनलाई थप सहज बनाउन खोजिएको छ।
पोखरामा निःशुल्क बस सेवा सञ्चालन गरी यात्रुहरूलाई सहयोग पुर्याउने सबै सार्वजनिक यातायात कम्पनीहरूलाई जिल्ला प्रशासन कार्यालयले विशेष धन्यवाद व्यक्त गरेको छ।