Nic Ad Nic Ad
Nic Ad Nic Ad

सशस्त्र प्रहरीद्वारा २१ लाख मूल्य बराबरका लत्ताकपडा बरामद

बुधबार, असोज २३, २०८१

वीरगञ्ज (पर्सा)- सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले भन्सार छली गरेर गोदाममा राखेको रु. २१ लाख २१ हजार आठ सय मूल्य बराबरको लत्ता कपडा बरामद गरेको छ । 

सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ नगवा नयाँवस्तीस्थित भारतबाट भन्सार छली ल्याएर घरमा लुकाइछिपाइ राखेको तीन वटा गोदामबाट सो परिमाणमा लत्ताकपडा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले भन्सार छली गरेर तीन वटा घरमा लुकाइ राखेको अवस्थामा लत्ताकपडा बरामद भएको जानकारी दिए । सशस्त्र प्रहरीले बरामद लत्ताकपडा र डिसी प्रोटिन पाउण्डर बिहीबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलको सक्रियतापछि भन्सार छली गरिएका सामान तथा बिलबिजक नभएका सामानको बरामदी ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले गत आर्थिक वर्ष २०८०-८१ मा रु. ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य पर्ने बिलबिजक नभएको र भन्सार छलीका सामान बरामद गरेको थियो । जसमध्ये सशस्त्र प्रहरी बल पर्साले रु १४ करोड ८९ लाख ४८ हजार पाँच सय ५६ मूल्य बराबरको सामान वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको थियो । 

सोही अवधिमा बिलबिजक अनुसार नभएका रु. १९ करोड १६ लाख ९६ हजार नौ सय ७५ मूल्य बराबरका सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । सशस्त्र प्रहरीले आव २०७९-८०मा भने रु २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ मूल्य बराबरको सामान बरामद गरेको थियो । प्रहरीले बरामद गरेको सामग्रीमा सबैभन्दा धेरै पेय पदार्थ, लत्ताकपडा, प्याज र मेसिनरी पार्टपुर्जा रहने गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्