नेभिगेशन
राजनीति

राजनीतिक रुपमा विद्या भण्डारी खुल्नुका दुई कारण हुन सक्छन् 

काठमाडौं– चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुनासाथ एमाले अध्यक्ष केपी शर्मा ओली चपली पुगेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका थिए।

यो राजनीतिक भेट थियो र चर्चा पनि पाएको थियो। आखिर प्रधानमन्त्री नियुक्ति हुनासाथ ओली किन चपली पुगेका थिए? के उनी भण्डारीलाई अझै राष्ट्रपतिका रुपमा मान्छन् अथवा राजनीतिमा उत्तराधिकारी बनाउन चहान्छन्?

अर्कोचाहिँ अहिले एमालेभित्र बालुवाटार वरिपरि नदेखिने बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित गोकुल बास्कोटालगायतका नेता भण्डारी निवासमा देखिने गरेका छन्। यसले अर्को प्रश्नलाई जन्म दिन्छ– के एमालेमा ओलीको एकाधिकारवादलाई खण्डित गर्ने शक्ति भण्डारी हुन्? भित्रभित्रै ओली अधिनायकवादलाई भण्डारीको पोलमार्फत अन्य नेता चुनौती दिन चाहिरहेका छन्?

भण्डारीले अन्तरवार्तामार्फत आफूलाई एमाले राजनीतिको उत्तराधिकारीका रुपमा प्रस्तुत गर्नुका प्रष्ट दुई कारण हुन सक्छन्– ओलीको उत्तराधिकारी अथवा ओलीकै समानान्तरीय राजनीतिक धार। 

ओलीको उत्तराधिकारीको आशंका किन पनि जायज हुनेछ भने उनले भनेकी छन्,‘अध्यक्षले कसरी लिनु भएको छ। अब उहाँको नीति कस्तो हुनेछ भन्नेमा पनि भर पर्छ।’

दोस्रो कारणचाहिँ एमालेमा आफ्नो अशंको हकदाबी जस्तो छ। भण्डारीले प्रष्ट भनेकी छन्,‘म मदन भण्डारीको राजनीतिक लिगेसीको उत्तराधिकारी हुँ।’ यसको अर्थ हुन्छ एमालेले अहिले मानिरहेको जनताको बहुदलीय जनवादको लिगेसी भण्डारीसँग छ। किनभने, यसको जन्मदाता मदन भण्डारी थिए।

भण्डारीको अन्तरवार्ताले दिने पनि दुई प्रष्ट संकेत छन्। 

पहिलो, अहिले एमालेको नेतृत्वका लागि हानाथाप गरी पदाधिकारीमा उदयीमान रहेका विष्णु पौडेल, शंकर पोखरेललगायतका नेताअघिको उत्तराधिकारी भण्डारी बन्न सक्छिन्। 

दोस्रो, एमालेमा मदन भण्डारीको लिगेसी आफूमा रहेका कारण अध्यक्ष ओलीलाई चुनौती दिने प्राधिकार आफूसँग मात्र रहेको भन्ने। 

जे होस्, तर भण्डारीको यो चाहना सतहमा आउँदा एमालेजनमा भने डंका पिटेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति