बाबुका आडमा आशिषको कालो धन्दा! भारतका लागि पूर्वराजदूत उपाध्यायको छत्रछायाँ
काठमाडौं– नाकाबन्दीका समयमा भारतको पक्षमा बोलेर बदनाम भएका भारतका लागि नेपालका पूर्वराजदूत तथा नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायका छोराले शक्तिको चरम दुरुपयोग गरी कालो धन्दा चलाएको आरोप लागेको छ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० चेतरादेई गाउँ नजिकै रहेको एग्रीवस्तु कोल्ड स्टोरेजले भन्सार छली गरी भारतबाट अवैध रूपमा कृषि सामग्री ल्याएर कालो बजारी गरेको हो। उपाध्यायको भारतीय लिगेसीलाई छोरा आशिष शर्माले यसरी कालो बजारीको मुहान तयार पारेका छन्।
आशिषको स्टोरेजले राजनीतिक प्रभावका कारण कालो धन्दा गरिरहेका छन्। स्थानीय प्रशासन, प्रहरी र केही सञ्चारकर्मीसँगको मिलेमतोमा शर्माले भारतबाट प्याज ल्याएर कोल्ड स्टोरेजमा लुकाएर नेपाली बजारमा पठाउने गरेको खुलासा भएको छ।
गैर कानुनी हिसाबमा त्यसरी ल्याएको प्याजको नेपाली कागजात बनाई अर्घाखाँची, गुल्मी, पाल्पालगायतका जिल्लामा महँगो मूल्यमा बेच्ने गरिएको तथ्य फेला परेको हो।
आर्थिक प्रभाव पारेर प्रहरी प्रशासन र सञ्चार माध्यममा समाचार प्रकाशनमै आउने गरेको छैन। उनले कोल्ड स्टोरेज व्यवस्थापनको लागि एक जना स्थानीयलाई खासगरी प्रशासन र प्रहरीसँग सेटिङ मिलाउनका लागि कर्मचारीकै रुपमा खटाएका छन्। ती कर्मचारीले प्रहरी, प्रशासन र अन्य सम्बन्धित पक्षलाई मिलाएर अवैधधन्दा प्रश्रय दिने काम गरेका छन्।
यहि असोज १८ गते भारतबाट कम लोड देखाई नेपाल भित्राउने नाममा ल्याइएको दुई ट्रक प्याज प्रहरीले नियन्त्रणमा लिएको थियो, जसको बजार मूल्य ५७ लाख रुपैयाँभन्दा बढी थियो। यो प्याज पनि एग्रीवस्तु कोल्ड स्टोरेजको लागि ल्याइएको पुष्टि भएपछि यो काण्ड झन् विवादास्पद बनेको छ।
आशिषले तस्करीकै लागि जंगलको छेउमा पारेर स्टोरज वातावरणीय प्रभाव मूल्यांकन (आईईई) स्वीकृति प्राप्त नगरी सञ्चालन गरेका छन्। स्थानीय प्रशासन र राजनीतिक दबाबले गर्दा उनले कानुनी प्रक्रिया पूरा नगरी सो संरचना निर्माण गरेको बताइएको छ।
उपाध्याय कांग्रेसमा प्रभावशाली रहेका बेला भारतीय राजदूत बनेका थिए। तत्कालिन केपी शर्मा ओली सरकारले ‘नाकाबन्दीका बेला भारतको पक्षमा बोलेको’ कारण फिर्ता गरेका थिए।