दशैं तिहारलाई भित्रियो ६ करोड ११ लाखको तास
काठमाडौं - दशैं तिहारलाई लक्षित गरेर चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै नेपालमा ६ करोड ११ लाख ६४ हजार रुपैयाँको तास आयात भइसकेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दुई महिनामा २० लाख ७ हजार ८ सय ९२ बुक तास आयात भएका छन्।
गत वर्षको सोही अवधिमा ६ करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको तास आयात भएको थियो। यस अवधिमा २२ लाख ९७ हजार ६ सय २६ बुक तास आयात भएको थियो। अघिल्लो वर्ष २०८०/८१ मा भने ३२ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो।
एक वर्षमा एक करोड ११ लाख ७२ हजार तीन सय ३७ बुक तास नेपाल आएको विभागको तथ्यांकले देखाएको छ। यस्तै, २०७९/८० मा भने २१ करोड २७ लाख ९४ हजार रुपैयाँ बराबरको एक करोड ७७ हजार नौ सय ८९ बुक तास आयात भएको थियो।
२०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँ बढीको तास विभिन्न देशबाट आयात गरेको थियो। सो अवधिमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँ बराबरको एक करोड ९ लाख ६० हजार ५४७ बुक तास नेपाल भित्रिएको थियो। यस्तै, २०७७/७८ मा नेपालले विभिन्न देशबाट २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको १ करोड ३९ लाख ६९ हजार १३५ बुक तास आयात गरेको थियो।