दशैंअघि दुग्ध किसानको सबै बक्यौता भुक्तानीमा सरकार असफल
काठमाडौं– दुग्ध किसानको सम्पूर्ण बक्यौता रकम दशैंअघि भुक्तानी गर्न सरकार असफल भएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही भदौ ९ मा सार्वजनिक गरेको सय दिने कार्ययोजनामा दुग्ध किसानको सबै बक्यौता भुक्तानी गर्ने उल्लेख छ । उनले पटक–पटक सार्वजनिक रुपमा उखु र दुग्ध किसानको रकम दशैंअघि भुक्तानी गर्ने बताउँदै पनि आएका थिए । तर, किसानले अहिलेसम्म बक्यौताको आधा रकम पनि पाउन सकेका छैनन् ।
केन्द्रीय दुग्ध सहकारी संघ नेपालका अध्यक्ष अम्बर कुँवरका अनुसार दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको करिब २ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यसमध्ये अहिलेसम्म ९० करोड रुपैयाँमात्र किसानले भुक्तानी पाएका छन् । डीडीसीले किसानलाई दूधको बक्यौता दिन अब एक अर्बभन्दा बढी बाँकी रहेको उनको दाबी छ ।
यसबीचमा मन्त्री अधिकारीको पहलमा दूधको बक्यौता भुक्तानी गर्न डीडीसीलाई ६० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराइएको थियो । तर, उनले सार्वजनिक कार्यक्रममा बोलेअनुसार दशैंअघि किसानको सबै बक्यौता भुक्तानी दिलाउन भने सकेनन् ।
अध्यक्ष कुँवरका अनुसार निजी क्षेत्र र सरकारी गरी किसानको दूधको बक्यौता ४ अर्ब ८० करोड रुपैयाँ थियो । पूर्व कृषिमन्त्री बेदुराम भुसालका पालामा ३० करोड रुपैयाँ भुक्तानी दिइएको थियो । अहिलेका मन्त्री अधिकारीले ऋण खोजेर ६० करोड रुपैयाँ दिएका छन् । सरकारले दिएको ९० करोड रुपैयाँमध्ये केही किसानले पाए भने केहीले अझै वैशाखदेखिकै पाउन बाँकी छ ।
अध्यक्ष कुँवरका अनुसार पछिल्लो समय निजी डेरी र डीडीसी दुवैले दूधको भुक्तानी गरिरहेका छन् । तर, सबै किसानले अझै पाउन सकेका छैनन् । दशैंपछि कति किसानले बक्यौता पाए, कतिले पाएनन् भन्ने यकिन तथ्यांक संकलन गरी फेरि मन्त्रालयसँग छलफल गर्ने अध्यक्ष कुँवरले जानकारी दिए ।
मन्त्री अधिकारीले किसानको दूधको बक्यौता १ अर्ब ६० करोड रुपैयाँमध्ये १ अर्ब ३० करोड भुक्तानी भइसकेको बताएका छन् । पछिल्लो समय डीडीसीले दैनिक किसानको खातामा पैसा पठाइरहेको भन्दै उनले अब ३० करोडमात्र बाँकी रहेको बताए ।
सरकारले उखु किसानको भने अनुदान रकम भुक्तानी दिएको छ । भदौमा विभिन्न जिल्लाका करिब ६५ हजार उखु कृषकलाई उखु बिक्री गरेबापत प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराएको थियो । सरकारले यो वर्ष उखु किसानलाई १ अर्ब ४५ करोड रुपैयाँ अनुदान दिएको छ ।
कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार उखु किसानलाई दिनुपर्ने बाँकी अनुदान रकम सम्बन्धित निकायमा पठाइएको छ । उनले अब उखु किसानको बक्यौता नभएको जानकारी दिए । दूध किसानको बक्यौता भुक्तानी गर्न डीडीसीलाई उपलब्ध गराएको ऋण किसानको खातामा गइरहेको उनले बताए ।
डीडीसीका एक अधिकारीका अनुसार अहिले असार–साउनसम्मको सबै भुक्तानी भइसकेको छ । कुनै जिल्ला र स्थानहरुमा भदौसम्मको पनि भुक्तानी दिइएको छ । डीडीसीले अबको २०–२५ दिनमा सबै रकम तिर्ने योजना बनाएको छ ।
पटक–पटकको आन्दोलनपछि पछिल्लो समय सरकारले दूध किसानको बक्यौता भुक्तानी दिन थालेको अध्यक्ष कुवँरको भनाइ छ । लामो समयदेखि डीडीसी र निजी दूध डेरीले किसानको दूधको बक्यौता भुक्तानी नगरेपछि किसानले पटक–पटक आन्दोलन गरेका थिए ।
कृषि मन्त्रालयसँग भएको सम्झौता कार्यान्वयन नभएपछि भुक्तानी पाउनुपर्ने माग राखेर किसानले लैनचौरस्थित डीडीसीको केन्द्रीय कार्यालयमा तालाबन्दी र घेराउसमेत गरेका थिए ।
डीडीसीलगायत निजी क्षेत्रका डेरी उद्योगहरु सबैले उपभोक्तालाई नगदमा दूध र दुग्धजन्य पदार्थ बच्दै आएका छन् । तर, किसानको दूधको भुक्तानी भने सधैं समस्यामा पर्ने गरेको छ । किसानले भुक्तानी नपाएको यो वर्ष मात्र होइन, सधैंजसो डीडीसी, निजी डेरी र किसानका बीचमा विवाद आइरहन्छ ।
अर्कोतिर बेला–बेलामा डीडीसी र निजी डेरीले किसानको दूध संकलन नगर्दा पनि विवाद आउने गरेको छ । दूध बेच्न नसकेपछि किसानले सडकमा फ्याँकेर विरोध प्रदर्शन गरेका घटना पनि बेला–बेलामा आइरहन्छन् । अहिले पनि डीडीसीले कतिपय जिल्लामा दूध संकलन घटाइरहेको छ ।