Nic Ad Nic Ad
Nic Ad Nic Ad

उड्न लागेको बुद्ध एयरको विमानको ढोका यात्रुले खोलेपछि…

बिहीबार, असोज २४, २०८१

काठमाडौँ- विराटनगरबाट जनकपुरका लागि उड्दै गरेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी ढोका खोल्दा उडान प्रभावित भएको छ ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार काठमाडौंबाट जनकपुरका लागि उडेको विमान खराब मौसमका कारण विराटनगर पुगेको थियो ।

जनकपुरको मौसममा सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा जहाजको इमरजेन्सी ढोका छेवैमा बसेका यात्रु पंकजविक्रम शाहले इमर्जेन्सी ढोका खोलेका थिए ।

उक्त घटनापछि चालक दलले जहाज पार्किङ-वे मै फर्काएका थिए । जहाजको प्राविधिक जाँच भइरहेको बताइएको छ ।

विगत केही सातायता यात्रुले हवाइजहाजका इमरजेन्सी डोर (आपतकालीन ढोका) खोलेको यो तेस्रो घटना हो ।

२ अक्टोबरका दिन विराटनगरबाट काठमाडौंको उडानमा र ७ अक्टोबरका दिन नेपालगञ्जबाट काठमाडौंको उडानमा पनि यात्रुले इमर्जेन्सी ढोका खोलेका थिए ।

यसले उडान प्रक्रियालाई नै अवरुद्ध गरी उडान तालिकालाई थप प्रभावित बनाएको बुद्ध एयरले जनाएको छ।

बिहीबार बिहान जनकपुर विमानस्थलको अनुकूल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो ।

आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् ।

आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ । बुद्ध एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको छ ।

हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ ।

विमान कम्पनीले उडान सुरक्षामा अनाहक खलल पुर्‍याउने यात्रुलाई उडानमा थप प्रतिबन्ध लगाउँछन् । जनकपुर विमानस्थल प्रमुख भिमदत्त पन्तले ती यात्रुको मनोविज्ञानबारे जाँचबुझ भइरहेको बताए ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्