छब्बीस वर्षपछि जगतिपुरबाट जाजरकोट दरबारमा फूलपाती
काँक्रेविहार– छब्बीस वर्षपछि पुरानो राजधानी जगतिपुरबाट खड्ग देवतासहितको फूलपाती जाजरकोट दरबारमा ल्याएर भित्र्याइएको छ ।
हरेक वर्ष फूलपातीका अवसरमा जाजरकोट दरबारमा भित्र्याइने खड्ग देवता गएको २५ वर्षसम्म खलङ्गाकै कालिका मन्दिरबाट जाजरकोट दरबार ल्याएर भित्र्याउने गरिएको थियो । जाजरकोट राज्यको प्रतीक मानिएको उक्त खड्ग देवता दसैँको सप्तमीमा जगतिपुरबाट भित्र्याउने चलन बन्द भए पनि यसलाई फेरि जगतिपुरमै लिने पहल गरिएको थिएन ।
सशस्त्र द्वन्द्वका कारण असुरक्षा भएको भन्दै २०५५ सालमा उक्त खड्गलाई खलङ्गाको कालिका मन्दिरमै राखिएको थियो । द्वन्द्व समाधान भए पनि स्थानीय सरोकारवालाको बेवास्ताका कारण खड्गलाई जगतिपुर नलिएर कालिका मन्दिरमै राखिएको थियो ।
यस वर्ष जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको विशेष पहल, समन्वय र सक्रियतामा २६ वर्षपछि जगतिपुर दरबार क्षेत्रको खड्ग देउताको मन्दिरमा लगिएको थियो । प्रतिष्ठानको पहल र समन्वयमा जिल्लामा बसेको सर्वपक्षीय बैठकले यस वर्षदेखि जगतिपुरबाटै खड्ग देवता ल्याउने निर्णय गरेको थियो ।