विपद्बाट बास गुमाएकालाई तत्काल पुनर्वासको व्यवस्था गर्न सरकारसँग एमालेको आग्रह
काठमाडौँ - नेकपा एमालेले प्राकृतिक विपद्बाट घरवास गुमाएका १० हजार परिवारलाई छिटोभन्दा छिटो पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले विपद्बाट प्रभावित परिवारलाई छिटो भन्दा छिटो पुनर्वासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले आफ्नो क्षमताले भ्याएसम्म विपद् प्रभावितहरूको उद्धार गरेको बताए ।
उनले प्राकृतिक प्रकोप र सरकारको क्षमताबीचको अन्तरले केही असहज परिस्थिति सिर्जना भएको बताए । उनले सरकारले विभिन्न माध्यमबाट सुरक्षित स्थानमा रहन आग्रह गरेको र आम नागरिकहरूमा सजगताको कमी देखिएको बताए ।
सरकारले अझ बढी सक्रिय भएर विपद् प्रभावितहरूको पुनर्वास र पुनर्निर्माणका लागि प्रभाकारी ढंगले काम गर्नुपर्ने ज्ञवालीले बताए ।