नेपाल प्रिमियर लिग सबैभन्दा महँगो खेलः विदेशी खेलाडी ल्याउनका लागि क्लवलाई रकमको सीमा
काठमाडौं– आन्तरिक खेलमा नेपाल क्रिकेट संघ (क्यान)ले सुरु गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) सबैभन्दा महँगोमा दरिएको छ।
एनपीएलमा आठ वटा टोली सहभागी छन्। एउटा टोलीको कुल पाँचदेखि सात करोड रुपैयाँ खर्च आउने अनुमान गरिएको छ।
पहिलो खर्च टोली खरिद गर्नमा भइसक्यो। टोली किन्न एउटा समूहले कम्तीमा एक करोडदेखि साढे तीन करोड रुपैयाँसम्म खर्चिएका थिए।
यसका लागि कर्णाली याक्सले सबैभन्दा कम अर्थात् एक करोड ११ लाख ७० हजार रुपैयाँ खर्च ग¥यो ने पोखरा एभेन्जर्सले सबैभन्दा बढी तीन करोड ३३ लाख ३३ हजार ३ सय ९९ रुपैयाँ खर्चेर आफ्नो टोली बनायो।
त्यसपछि दोस्रो ठूलो लगानी खेलाडी किन्नमा हुँदै छ।
भर्खरै गरिएको खेलाडी अक्सनमा आठ टोलीले झन्डै छ करोड रुपैयाँ खर्च गरे। त्यसमा लुम्बिनी अल स्टार्सले झन्डै ८५ लाख रुपैयाँ खर्च गरेको छ।
टोलीको बाँकी खर्च चार जना विदेशी तथा एक जना स्थानीय खेलाडी भित्राउन हुनेछ। त्यसमा अझ एक करोड खर्च जोडिन आउने अनुमान गरिएको छ।
त्यसपछि प्रशिक्षक र फिजिओथेरपिस्टलगायत व्यवस्थापनको टोली, खुराक, खेल सामग्री, प्रचार रसार र प्रशिक्षणमा खर्च हुने देखिन्छ। तिनमा पनि पनि करोड रुपैयाँ हाराहारीमा खर्च हुने ठानिएको छ।
पोखरा एभेन्जर्सका व्यवस्थापक किरण शम्शेर राणालाई उदृत गर्दै बीबीसी नेपाली न्यूजले लेखेको छ,‘हामीले मोटामोटी हिसाब गर्दा एउटा खेल खेल्दा एक करोड ३० लाख रुपैयाँसम्मको खर्च हुने देखिन्छ।’
एउटा टोलीले लीगका सात वटा खेल तथा प्लेअफ हुँदै फाइनल खेलमा १० खेल खेल्नु पर्ने देखिन्छ।
टोलीले अन्धाधुन्ध खर्च नगरून् र प्रतिस्पर्धाको स्तर समान होस् भन्ने उद्देश्यमा साथ क्यानले खर्चमा सीमा तोकेको छ।
त्यसअनुसार खेलाडी अक्सनमा ९० लाख रुपैयाँको सीमा तोकिएको थियो। त्यसमा टोलीले ६३ लाख देखि ८४ लाख रुपैयाँसम्म मात्र खर्च गरे।
विदेशी खेलाडी किन्नमा पनि क्यानले सीमा तोकेको छ। क्यानले विदेशी खेलाडीहरूलाई प्ल्याटिनम, गोल्ड र सिल्भर वर्गमा विभाजन गरी त्यसका लागि पाँच हजार देखि ५० हजार अमेरिकी डलरसम्म खर्चको सीमा तोकिदिएको छ।
पोखरा एभेन्जर्सका व्यवस्थापक राणाका अनुसार विदेशी खेलाडीका लागि नेपाली मार्की खेलाडीभन्दा बढी रकम खर्चिनुपर्ने हुन्छ। उनी भन्छन्, “विदेशी खेलाडी लिइँदा कम्तीमा करोड रुपैयाँ त खर्च हुने छ नै।”
क्यानका सचिव पारस खड्का अहिले आफ्नो सम्पूर्ण शक्ति एनपीएलका लागि लगाइरहेका देखिन्छन्।
एनपीलको लागि निकै उत्साहित देखिने गरेका उनले भनेका छन्, ‘नेपाली क्रिकेटमा नयाँ सुरुआत हुने छ। एनपीएललाई हामी विश्वकै उत्कृष्ट लिग बनाउने छौँ।’
एनपीएललाई उत्कृष्ट बनाइरहँदा क्यानले पहिलो संस्करणबाट पाँच करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको छ।
टोली बिक्रीमा क्यानले झन्डै १७ करोड रुपैयाँ आम्दानी गरिसकेको छ। त्यसबाहेक प्रायोजकबाट थप आम्दानी हुने छ।
यही रकमबाट क्यानले प्रतियोगिता सञ्चालन गर्ने छ।
कोषाध्यक्ष पदम खड्का भन्छन्, ‘टिभी प्रसारण अधिकारबाट पाँच करोड रुपैयाँभन्दा बढी आम्दानी हुनेछ। टिकटबाट पनि तीनदेखि पाँच करोड रुपैयाँ आम्दानी हुने हाम्रो अनुमान छ।’
दर्शकका लागि अस्थायी प्यारपेट बनाउन योजना बनाइएको र त्यसो हुन सके टिकटको आम्दानी पाँच करोड रुपैयाँ पुग्न सक्ने खड्काले बताए।
त्यस्तै क्यानले पुरस्कारमा दुई करोड रुपैयाँ खर्च गर्ने बताइएको छ।