Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन

शुक्रबार, असोज २५, २०८१

खजुरा (बाँके)- प्रसिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले यक्ष र मोक्ष पाउने आशामा आज जिब्रो छेडेका छन् ।  

बडादशैंको घटस्थापनादेखि निराहर व्रत बसेका पुरुषले आफ्नो भाकल पुरा गराउन वा पुरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि रहेको बागेश्वरी मन्दिरका मुलपुरोहित महन्त चन्द्रनाथ योगीले बताए । उनले केही समय अघिसम्म भक्तजनले देवीलाई जिब्रो काटेर चढाउने गरिए पनि अहिले जिब्रो छेडेर दर्शन गर्ने चलन रहेको बताए । महन्त योगीले देवीको मन्दिरमा पशुबली चढाउने परम्परा रहेको र केही भक्तजनले आफ्नै रगत चढाउने उद्देश्यले जिब्रो छेड्ने गरेको स्पष्ट पारे । उनका अनुसार नवरात्रको व्रत बसेका व्रतालु पुरुषले नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशूल) छेड्ने गर्छन् । हरेक वर्ष एक सयभन्दा बढी भक्तजनले जिब्रो छेड्ने गरेका छन् । 

यस मन्दिरमा बडा दसैँ र चैतेदशैंमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ । निराहार व्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्