निर्माण व्यवसायीको बक्यौता ४५ अर्ब, भौतिकमन्त्रीको दसैं अघिको प्रतिबद्धता भएन पूरा
काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैंअघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए। तर, व्यवसायीले भुक्तानी पाएनन्।
मन्त्री दाहालले कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। ‘मैले दसैँ अगाडि भुक्तानी दिनुपर्छ भनेको थिएँ,’ उनले भने, ‘हाम्रो मन्त्रालयले ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ। हामीले ५ अर्ब ५० करोड रुपैयाँ भुक्तानी दिइसकेका छौं। ३ अर्ब ५० करोड रुपैयाँ जति भुक्तानी दिन बाँकी छ। भुक्तानीका लागि अर्थ मन्त्रालयसँग कुरा गरेका छौं।’
मन्त्री दाहालले बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्दा तीन महिना अगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नैपर्ने हुँदा ढिलाइ भएको बताए। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार सरकारबाट अझै ४५ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ। समयमा भुक्तानी हुन नसक्दा निर्माण उद्योग समस्यामा परेको उनले बताए।
‘मुलुकका विभिन्न राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीय, प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताल तथा अन्य विभिन्न आयोजना निर्माण सम्पन्न भएपनि सरकारले व्यवसायीलाई ४५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने छ, अहिलेसम्म १५ अर्ब मात्र भुक्तानी पाएका छौं,’ उनले भने, ‘निर्माण सम्झौता भएका करिब ६ खर्ब ५० करोड रुपैयाँका आयोजनाको काम अगाडि कसरी बढाउने?’