भक्तपुरमा ब्रह्मायणी जात्राको रौनक
भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रा सुरु भएको छ । यो जात्राका लागि रातिदेखिनै हजारौँ दर्शनार्थीको घुइँचो लागेको छ ।
नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वास अनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ ।
मन्दिरमा नवमीका दिन साँझदेखि नै हजारौँ दर्शनार्थीको घुइँचो लागेको थियो । शुक्रबार साँझ नवदुर्गा मन्दिरबाट महिषासुर दैत्यको प्रतीक खःमेय अर्थात् राँगोलाई जाँड, रक्सी खुवाएर मत्ताएर अबिर दलेर नवदुर्गा देवता घरबाट हजारौँको सङ्ख्यामा दर्शनार्थीले लखेट्दै दत्तात्रय, च्यामासिंहबाट ब्रह्मायणी मन्दिरमा पुर्याएर राति बध गरिएको थियो ।
राँगोलाई महिषासुर दैत्यको रुपमा लखेट्दै बध गर्ने परम्परा सयौँ वर्षदेखि भक्तपुरमा चल्दै आएको भक्तपुरका संस्कृतकर्मी कमलनाथ जोशीले जानकारी दिए।