Nic Ad Nic Ad
Nic Ad Nic Ad

८३ कैदीबन्दीले आफन्तको हातबाट टीका लगाए

आइतबार, असोज २७, २०८१

तनहुँ - बडादसैँमा तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा शनिबार साँझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो । 

सो क्रममा ८३ जना कैदीबन्दीले टीका लगाएको तनहुँ कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए । उनले भने, “दुई सय ३७ जना आफन्तजनले कैदी बन्दीसँग भेट गर्दै दसैँ मनाएका छन् । दसैँ मनाउन पाउँदा कैदी बन्दी खुसी भएका छन् ।’’ 

 

विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरेको अधिकारीले उल्लेख गरे । कारागारमा रहेका कैदीबन्दीले दसैँ मनाउनका लागि रकम सङ्कलन गरेका थिए । सोही रकमबाट उनीहरूले खसीको व्यवस्थापन गरेका थिए । सरकारले दसैँ मनाउका लागि प्रति कैदी बन्दी रु तीन सय र लत्ताकपडा बापत रु दुई हजार पाँच सय उपलब्ध गराएको थियो ।

केही कैदीबन्दीले मुडा विक्री गरेर समेत दसैँ खर्च जुटाएका थिए । तनहुँ कारागारमा तीन सय ३० कैदी बन्दी छन् । उनीहरूलाई कारागारभित्र रहेका दुई वटा ब्लकमा व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ०६:५८
प्रतिक्रिया दिनुहोस्