Nic Ad Nic Ad
Nic Ad Nic Ad

टीका लगाउन आउनेलाई दूध, दही र मोहीले स्वागत

आइतबार, असोज २७, २०८१

चितवन- निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले सत्कार हुने गरेको थियो ।  कतिपयले तयारी मोहीले पाहुनालाई स्वागत गरे भने कतिपयले दहीलाई घरमै फिटेर मोही बनाएर पनि स्वागत गरे । उनले भने, ‘पहिले जताततै बजारका पेय पदार्थले स्वागत गर्नेहरु अहिले दूध, दही र मोहीमा आकर्षित भएका पाइयो ।’ उनको अनुभवमा टीका थाप्न जाने सबैजसो घरमा दही, मोहीले नै स्वागत गरेका थिए । 

गीतानगरका उपेन्द्र पण्डितले यो वर्ष घरमा बुबाआमाको हातबाट टीका थाप्न आउने आधाभन्दा बढीलाई दही र मोहीले स्वागत गरे । उनले भने, ‘बालबालिका बाहेक सबैलाई हामीले दही र मोहीले स्वागत गर्‍यौँ ।’ उनले भने, ‘बजारबाट लगेको पेय खासै खपत भएन, धेरैले दही,मोही नै रुचाए ।’ विवाह भएको पहिलो वर्ष घर, मामाघर र ससुराल टीका थाप्न गएका विद्यार्थी नेता सचेत सुवेदी पनि आफू दही र मोहीको सत्कारमा परेको बताउँछन् । कृषिमा स्नातकोत्तर गरेका उनले भने, ‘धेरै मानिस स्वास्थ्यप्रतिको सचेत पाइयो । दूध, दही र मोही उनीहरूको प्राथमिकतामा रहेको पाइयो ।’ 

सरकारले आम नागरिकलाई दुग्धजन्य पदार्थको उपभोगको बारेमा जनचेतना जगाउनु पर्ने उनको सुझाव छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले पछिल्ला दिनमा दही र मोहीको माग बढ्दै गएको बताउँछन् । उनको भनाइमा पहिले पहिले बजारको पेय पदार्थले स्वागत गर्नेहरुले अहिले दही र मोहीले स्वागत गर्ने गरेका छन् । 

जिल्लाका तीन वटा दुग्ध उत्पादक सहकारीले मोही उत्पादन गर्दै आएका छन् । भरतपुरको अन्नपूर्ण, गङ्गानगर र गौरीगञ्ज दुग्ध उत्पादक सहकारी संस्थाले मोही उत्पादन गरेर बजारमा बिक्री गर्दै आएका छन् । जिल्लामा एक सय १५ वटा दुग्ध उत्पादक सहकारी छन् । तीनले दैनिक तीन लाख ५० हजार लिटर दूध सङ्कलन गरी एक लाख ५० हजार लिटर अन्यत्र बेच्दै आएका छन् । बाँकी दूध जिल्लाका डेरीबाट बिक्री हुने गरेको छ । 

भरतपुर महानगरपालिका–२२ मा रहेको श्री गङ्गानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा आफूहरुले विगत ६ महिनादेखि मोही उत्पादन गर्दै आएको बताउँछन् । सुरुका दिनमा बिक्री हुँदैन कि भन्ने चिन्ता भएको भन्दै उनले पछिल्लो समय माग बढ्दै गएको बताउँछन् । विगतमा दैनिक पाँच सय लिटर उत्पादन गर्ने गरेको बताउँदै उनले माग बढी हुने समयमा दैनिक एक हजार लिटरसम्म उत्पादन गर्ने गरेको जानकारी दिए । वैवाहिक समारोह, धार्मिक कार्यक्रम, राजनीतिक कार्यक्रमहरुमा मोहीको माग अधिक हुने गरेको  छ ।

उनले भने, ‘विवाहलगायत समारोहका लागि मोहीको माग हुन गरेको छ ।’ यस वर्षको दसैँमा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी दही बिक्री भएको उनी बताउँछन् । फूलपातीदेखि दसमीसम्म दैनिक एक हजार लिटर दही बिक्री भएको उनले जानकारी दिए । दैनिक पाँच सय लिटर हाराहारी मोही बिक्री हुने गरेको अध्यक्ष सापकोटाले बताए । 

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्