Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक महिनामा झण्डै दुई अर्ब घट्यो विपन्न कर्जा

आइतबार, असोज २७, २०८१

काठमाडौं– अर्थतन्त्रमा आएको समस्याका कारण बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग कम छ । यही कारण लक्षित वर्गमा पर्याप्त मात्रामा कर्जा प्रवाह हुन नसकेको तथ्यांकले देखाएको छ ।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट विपन्न वर्गले लिँदै आएको कर्जा अन्य क्षेत्रमा जस्तै घट्न पुगेको हो । राष्ट्र बैंकका अनुसार चालु आवको साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले विपन्न वर्गमा ३ खर्ब ७ अर्ब ७९ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन कुल कर्जा प्रवाहको ६.२२ प्रतिशत हो भने गत आवको भन्दा झण्डै २ अर्ब रुपैयाँले कम हो । बैंक तथा वित्तीय संस्थाले साउन मसान्तसम्म ५१ खर्ब ६५ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

गएको आर्थिक वर्षको साउनसम्म ४८ खर्ब ५७ अर्ब कर्जा प्रवाह भएको थियो । यसमध्ये ६.७५ प्रतिशत अर्थात् तीन खर्ब नौ अर्ब ५० करोड रुपैयाँ विपन्न वर्गमा प्रवाह भएको थियो ।

गत आवमा ब्याजदर उच्च रहेको, लघुवित्त लगायतका क्षेत्रमा समस्या चरम बिन्दुमा पुगेको, बैंक तथा वित्तीय संस्थासँग कर्जा प्रवाहका लागि तरलता कम रहेको तथा कतिपयले कर्जा दिन नसक्ने अवस्था समेत आएकाले कर्जा प्रवाहमा समस्या भएको थियो । यसकारण मौद्रिक नीतिले तय गरेको साढे ११ प्रतिशतको लक्ष्य गत आवमा आधामात्रै पूरा भएको थियो ।

गत आवको तुलनामा चालु वर्षको अहिलेसम्ममा अर्थतन्त्र विस्तारै चलायमान हुन थालेको सरकारले बताउँदै आएको छ । जसअनुसार लगानीको अवसर पनि प्रशस्त रहेको सरकारी अधिकारीहरू बताउँछन् । तर, निजी क्षेत्र भने त्यसका लागि अझै विश्वस्त भइसकेको छैन । कर्जा प्रवाहका लागि ब्याजदर कम हुनुले सहज बनाए पनि नागरिकको उपभोग्य क्षमता नै कम हुँदा समस्या सिर्जना भइरहेको निजी क्षेत्रको भनाइ छ । यही कारण निजी क्षेत्रले कर्जाको माग गर्न सकेको छैन । साथै सरकारले अनिवार्य लगानी गर्नुपर्ने गरी तोकिएका क्षेत्रमा समेत कर्जा प्रवाह अपेक्षित गतिमा हुन सकेको छैन ।

विपन्न कर्जामध्ये वाणिज्य बैंकहरुले २०८१ साउन मसान्तसम्ममा दुई खर्ब ६३ अर्ब कर्जा प्रवाह गरेका छन्, जुन कुल कर्जा प्रवाहको ६.०३ प्रतिशत हो । त्यस अवधिमा वाणिज्य बैंकहरुले प्रवाह गरेको कुल कर्जा ४५ खर्ब ६५ अर्ब ३३ करोड रुपैयाँ छ ।

गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले ४२ खर्ब ९४ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा त्यसको ६.४९ प्रतिशत अर्थात् दुई खर्ब ६५ अर्ब ४० करोड विपन्न वर्गमा प्रवाह भएको थियो ।

विकास बैंकहरुले भने २०८१ साउन मसान्तसम्ममा विपन्न वर्गमा कुल ३७ अर्ब ७० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन कुल कर्जा चार खर्ब ९९ अर्ब रुपैयाँको ७.७४ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुले चार खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा त्यसको ८.७८ प्रतिशत अर्थात् ३९ अर्ब ३१ करोड ९० लाख रुपैयाँ विपन्न वर्गमा प्रवाह गरेका थिए ।

फाइनान्स कम्पनीहरुले गत साउन मसान्तसम्म एक खर्ब २९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये ७.२७ प्रतिशत अर्थात् ६ अर्ब ४५ करोड ९० लाख रुपैयाँ विपन्न वर्गमा प्रवाह भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुले कुल ९२ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा ८.७६ प्रतिशत अर्थात् पाँच अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए ।

शिथिल अर्थतन्त्र र लघुवित्त वित्तीय संस्थाको कर्जा प्रवाहमा समेत समस्या आएपछि केही समयदेखि विपन्न वर्गमा जाने कर्जा घट्दै आएको छ । चालु आवमा ब्याजदर घट्दै गएको र बैंकमा लगानी योग्य रकम प्रशस्त रहेको अवस्थामा पनि गत वर्षको तुलनामा अहिले यस्तो कर्जा बढ्न सकेको छैन ।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्