Nic Ad Nic Ad
Nic Ad Nic Ad

बन्दै छ क्रिकेट रंगशाला, दैनिक दुई चरणमा काम

आइतबार, असोज २७, २०८१

चितवन - चितवनको भरतपुर महानगरपालिका-१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम जारी छ । रंगशाला निर्माण कार्य दसैँमा पनि रोकिएको छैन । हालसम्म रंगशालाको १० प्रतिशत काम सकिएको छ । 

भरतपुर महानगरपालिकाले संघ र प्रदेश सरकारसँग सहकार्य गरेर रंगशालाको कामलाई अघि बढाएको हो । धुर्मुश-सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि बढाएको हो । ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ ।

 

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ । गत साउनमा बिबिआर जेभीले निर्माण कार्य सुरु गरेको हो । विसं २०८३ पुससम्ममा रंगशाला निर्माण सम्पन्न गर्ने गरी रु. ७८ करोड ५१ लाखमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिइन् । रंगशाला निर्माण गर्न चालु आर्थिक वर्षमा संघीय र प्रदेश सरकारले रु. ५० करोड विनियोजन गरेका छन् ।

रंगशालामा दैनिक दुई चरणमा काम भइरहेको छ । चाडपर्वमा समेत  काम नरोकिने प्रमुख दाहालले बताइन् । काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इञ्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्षरुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  २०:०६
प्रतिक्रिया दिनुहोस्