उपनिर्वाचन २०८१ : रास्वपासहित २५ दल दर्ता, उम्मेदवारी दर्ता मंसिर २ गते
काठमाडौं-मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीसहित २५ दलले दल दर्ता गराएका छन्। २६ दलले निर्वाचनका लागि भाग लिन आयोगमा निवेदन दिएकोमा २५ दलको मात्र रित पुगेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए।
उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरु छन्। रास्वपाले स्थानीय निर्वाचनमा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो। मंसिर १६ गते ३० वडाध्यक्षसहित स्थानीय तहमा रिक्त ३९ पदका लागि उपनिर्वाचन हुँदैछ। यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ।
‘२०८१ मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ,’ आयोगले विज्ञप्तिमा भनेको छ।
उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ।
मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने र सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजे उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ।
जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, गाउँपालिका उपाध्यक्ष ३, गाउँपालिका वडाध्यक्ष ९, नगरपालिका प्रमुख १, नगरपालिका उपप्रमुख १ र नगरपालिकाका वडाध्यक्ष २१ गरी ३९ जनप्रतिनिधि चयन गर्नका लागि उपनिर्वाचन गर्न लागिएको हो।