Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन  स्वास्थ्य संस्थामा शिशु स्वागत घर

मंगलबार, असोज २९, २०८१

म्याग्दी -म्याग्दीको धवलागिरि गाउँपालिकाका स्वास्थ्य संस्थामा शिशु स्वागत घर स्थापना भएको छ । स्वास्थ्य संस्थादेखि टाढा रहेका भौगोलिक रूपमा विकट र दुर्गम बस्तीका विपन्न तथा गरिब समुदायका गर्भवतीलाई लक्षित गरेर गाउँपालिकाले शिशु स्वागत घर स्थापना गरेको हो । सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन शिशु स्वागत घर सञ्चालन गरिएको धवलागिरि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले जानकारी दिए ।

“सुत्केरी हुने मिति नजिकिएपछि गर्भवती र आफन्त बास बस्नका लागि सबै स्वास्थ्य संस्थामा एक÷एक वटा कोठामा शिशु स्वागत घर बनाएका छौँ”, उनले भने, “शय्या, बिस्तारा, भाँडाकुँडा र सरसफाइका सामग्री, ग्यासको व्यवस्था गाउँपालिकाले गरेको छ ।” सात वटा वडाका स्वास्थ्य चौकीमा शिशु स्वागत घर स्थापना गर्न गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको रु. पाँच लाख बजेटबाट सामग्री खरिद गरिएको थियो ।

धवलागिरिको एउटै वडाको एउटा बस्तीदेखि अर्को बस्तीमा पुग्न पूरै दिन हिँड्नुपर्ने अवस्था छ । भौगोलिक विकटताका कारण घर छाडेर स्वास्थ्य संस्था तथा बजारका अस्पताल जान नसक्ने गर्भवती घरमै जोखिम मोलेर सुत्केरी हुनुपर्ने बाध्यता छ । गत आर्थिक वर्ष २०८०/८१ मा धवलागिरिमा ९१ जना सुत्केरी भएका थिए । जसमध्ये तीन जना जोखिम मोलेर घरमै सुत्केरी भएका हुन् । जोखिम मोलेर घरमै सुत्केरी हुने अवस्था अन्त्य गरी मातृशिशु मृत्युदरमा कमी ल्याउने र स्वास्थ्यमा सुधार ल्याउनका लागि शिशु स्वागत घरको अवधारणा अघि सारिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको निगरानीमा रहने गर्भवतीलाई जटिलता भएमा समयमै अस्पताल पुर्‍याउनका लागि समन्वय गर्न पनि सहज हुने उनले बताए । धवलागिरिका सात वटै स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालन गरिएको छ ।

सुरक्षित प्रसूति सेवामा पहुँच बढाउनका लागि सुनौला हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन भएको छ । सो कार्यक्रममार्फत स्वास्थ्य संस्थामा तोकिएको मितिमा गर्भ परीक्षण गराउने र सुरक्षित प्रसूति सेवा लिनेलाई कुखुरा, अण्डा, पोसिला खानेकुरा उपहार दिने गरिएको उपाध्यक्ष रेशम पुनमगरले बताए । 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्