Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी

पूर्वआईजी खनाल एमालेमा बस्न नसक्ने कारण, कथा १० नम्बर डायरीको 

मंगलबार, असोज २९, २०८१

काठमाडौं– नेपाल प्रहरीका पूर्वमहानिरिक्षक (आईजी) सर्वेन्द्र खनाल दुई पटक प्रतिनिधि सभाको निर्वाचनमा टिकट लिएको नेकपा एमालेमा रहन नसक्ने नैतिक विन्दुमा पुगेका छन्। 

ललिता निवास प्रकरणमा ‘१० नम्बर डायरी’मा मुद्दा तयार पारेका खनाल सोही विषयका कारण एमालेसँग नैतिक सम्बन्धमा रहन नसक्ने स्थितिमा पुगेका हुन्। यसको प्रमुख कारक भने भाटभटेनीका मालिक मिनबहादुर गुरुङ हुन्। उनै गुरुङले दान गरेको जग्गामा एमालेले मुख्यालय खोल्नेगरी शिलान्यास गरिसकेको छ। 

उच्च स्रोतले भन्यो,‘पूर्वआईजी खनाल आफैंले ललिता निवास प्रकरणमा अभियुक्त भनी करार गरेका व्यक्तिले दान दिएको जग्गामा एमालेले कार्यालय खोल्न लागेपछि नैतिक हिसाबमा पनि अप्ठेरो परेको छ। उहाँ अब एमालेमा रहने या नरहने भन्ने विषयको चिन्तनमा हुनुहुन्छ।’

ललिता निवास प्रकरणलाई गृह मन्त्रालयमार्फत फाइल खुलाउने काम खनालले गरेका थिए। उनी त्यसबेला प्रहरीका बाहलवाला आईजी थिए। 

ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा पनि उनले ठूलै आँट गरेर काम बढाएका थिए। यो प्रकरणमा देशको प्रधानमन्त्री भइसकेका डा. बाबुराम भट्टराई, माधव नेपालका अलावा ठूलै हस्ती संलग्न रहेको विषय आएको थियो। खनालले खोलेको फाइलको अनुसन्धानको निरन्तरतामा भट्टराई र नेपालसँग सीआईबीले केही महिना अघि मात्र बयान लिएको थियो। 

यस प्रकरणमा विशेष अदालतले मन्त्रिपरिषदको निर्णयमा हात नहुने भनी राजनीतिक दलका नेतालाई फाइदा पुग्नेगरी फैसलाको पूर्णपाठ जारी गरेको थियो। 

खनाल यस्ता प्रहरी प्रमुख थिए कि जसले पदमा रहँदा बलात्कार प्रकरणमा बाहलवाला सभामुख कृष्णबहादुर महरा, पृथकतावादी आन्दोलन चलाएका हाल जनमतका अध्यक्ष सीके राउत मात्र होइन तत्कालिन बाहलवाला गृहमन्त्री रामबहादुर थापाका भाई समेत पक्राउ गरेका थिए। 

खनालकै कार्यकालमा लिटिल बुद्ध भनिने रामबहादुर बमजनको अनुसन्धानको फाइल खुलेको थियो। पछिल्लो पटक एआईजी किरण बज्राचार्य सीआईबीको प्रमुख हुँदा पक्राउ गरिएका बमजन अहिले थुनामा छन्। 

खनालले जोखिम मोलेर प्रमाणसहित तथ्यहरु निकाल्न लगाए। बालुवाटारको बहुमूल्य जग्गा हडप्नेमा देशका प्रभावशाली नेता, वकिल, व्यापारी समेत संलग्न रहेको तथ्य खुल्यो। जसमा मीनबहादुर गुरुङ पनि हुन्। 

ललिता निवासको सार्वजनिक जग्गा हडप्ने मीनबहादुर गुरुङ अहिले एमालेलाई ११ रोपनी जग्गा दिएर किर्तिपुरमा पार्टी कार्यालय बनाइदिने भएका छन् । यसको शिलान्यास भइसकेको छ गत हप्ता।

मुकुल ढकालले त विगतमा सर्वेन्द्र खनालको समूहले स्वतन्त्र पार्टी गठन गर्न लागेको सूचना पाएर रवि लामिछाने हतार हतार निर्णयमा पुगेको खुलासा गरिसकेका थिए।

‘देश बनाउने कुरामा पदमा रहँदा नै जोखिम मोलेको थिएँ। नैतिक विषयमा सोच्न बाध्यकारी छु, विकल्प के होला भन्ने चिन्तनमा छु’, केही समयअघि मात्र मातृ शोकबाट उठेका पूर्वआईजी खनाल भन्छन्,‘भ्रष्टाचारी, अपराधी, अभियुक्तसँग साँठगाँठ गर्ने राजनीति राम्रो होइन। तर, कुनै उचित निर्णयमा पुगिसकेको छैन।’
 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्