Nic Ad Nic Ad
Nic Ad Nic Ad

देउवा र ओलीबीच उच्चस्तरको समझदारी बनेको छ, आफ्नै मिसनमा अघि बढ्छ : शंकर पोखरेल

मंगलबार, असोज २९, २०८१

काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले साना दलहरूले स्थिर सरकार बन्न नदिएपछि दुई ठुला पार्टी मिलेको बताएका छन् ।

तुलसीपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले मुलुक निर्माणका लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक भएकाले काँग्रेससँग मिलेको बताएका हुन् ।उनले भने, ‘गठबन्धनको सरकार त बन्छन्, तर जनताको भावनाअनुसार सरकारको नेतृत्व ठुला दलले गर्छन् । जसले जनादेश पाउँछ लोकतन्त्रमा, त्यसले नै नेतृत्व गर्ने हो, तर हामीकहाँ जो कमजोर छ, त्यसले नेतृत्व गर्ने, त्यो नेताले चाहिँ अझै २७५ सिटको संसदमा ३२ सीट लिएको नेताले यो सीट चानचुने होइन, म्याजिक नम्बर हो । यसले त चमत्कार गर्छ । यसैले पाँचै वर्ष नेतृत्व गर्छ भनेर भाषण गर्दै हिँड्न थालेपछि यस्ता प्रवृत्ति रोक्न हामी मिलेका हौँ ।’

आफू कमजोर भएर कहिले काँग्रेस र कहिले एमाले बोक्दै हिँड्ने प्रवृत्तिबाट मुलुक बन्न नसक्ने निष्कर्षसहित ठुला दल मिलेको महासचिव पोखरेलले बताए ।

उनले ओली नेतृत्वको सरकार ढलेपछि ओरालो लागेको अर्थतन्त्र अहिले बिस्तारै लयमा फर्किन थालेको जिकिर गरे । देशमा बढ्दै गएको निराशालाई हटाउन नसके लोकतन्त्र नै खतरामा पर्ने भएकाले काँग्रेससँग मिलेको उनको भनाइ छ ।

उनले काँग्रेस सभापति शेरबहादुर देउवा  र प्रधानमन्त्री केपी शर्मा ओलीबीच उच्चस्तरको समझदारी बनेकाले समीकरणमा कुनै समस्या नभएको दाबी गरे ।

महासचिव पोखरेलले थपे, ‘यो एउटा मिसनको लागि बनेको समीकरण हो । त्यो मिसनतर्फ अघि बढ्छ । बाहिर हल्ला भए जस्तो कुनै समस्या छैन ।

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्