एक महिनाभित्र रुग्ण उद्योग सञ्चालन गर्छौँ : उद्योग मन्त्री भण्डारी
काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरू अबको एक महिनाभित्रै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको बताएका छन् ।
गृह जिल्ला बैतडीमा आयोजित दसैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा भण्डारीले भने, ‘अबको एक महिनाभित्र लामो समयदेखि बन्द अवस्थामा रहेका उद्योगहरूलाई सञ्चालनमा ल्याउने तयारी गरेका छौँ । त्यसका लागि धेरे चरणमा छलफल गरेका छौँ । यी उद्योगहरू सञ्चालन प्रक्रियाका लागि सूचना आह्वान गर्छौँ ।’उनले सरकारी मात्र होइन, निजी उद्योगलाई पनि सञ्चालनमा ल्याउन सहयोग गर्ने बताए । नतिजा देखिने गरी काम गर्न मन्त्रालयहरुबीच प्रतिस्पर्धा चलिरहेको मन्त्री भण्डारीले सुनाए ।
उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रतिस्पर्धामा अगाडि आउने दाबी गरे ।
‘हाम्रो मन्त्रालय प्रतिस्पर्धामा पुछारमा रहन्न, अगाडि नै हुन्छ । हामीले धेरै मेहनत गरेर मन्त्रालयको कार्ययोजना बनाएका छौँ’, भण्डारीले भने, ‘शतप्रतिशत त म भन्दिनँ, त्यसको आसपासमा हाम्रो नतिजा देखिन्छ ।’
दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्रको काम भइरहेको उनले बताए । यसका साथै मध्य पहाडी लोक मार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाटमा मोटर पुल बनाउन भारत सरकारसँग छलफल भइरहेको उनले दाबी गरे ।
पुल निर्माणसँगै दुई देशको व्यापारमा वृद्धि हुने र बैतडीमा सिमेन्ट उद्योग स्थापना भएर भारतीय बजारमा निर्यात हुने भण्डारीको भनाइ छ ।