Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल

बुधबार, असोज ३०, २०८१

सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिका-६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका-४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए । उनी लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दै आएका छन् । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दै आएका छन् । उनले भने, “सिलौटा बनाउने हाम्रो पुर्ख्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदै आएको छु ।”

इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुंगाका सामाग्री बिक्री गर्दै आएका छन् । नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायताबाट उनले ढुंगालाई विभिन्न आकार बनाई साथै बुट्टा भर्दै आएका छन् । उनले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राखेका छन्  । “विदेशमा गएर दुःख गर्नुभन्दा यही पुर्ख्यौली पेसा सिलौटो व्यापारबाट आम्दानी गर्दै आएको छु, दिनभर यही बसेर सामाग्री तयार गर्छु, बेलुका घर फर्किन्छु । अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान लाउन पुगेको छ । आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ”, सन्तराजले भने । 

सन्तराजले दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँदै आएका छन्  । “कहिले चार÷पाँच वटासम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन । व्यापार हो, सधैँ एकनास हुँदैन”, उनले भने । लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गरेका छन्  ।

सिलौटो बनाउने ढुंगा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीलगायतका स्थानबाट ल्याउने गरेको उनले बताए ।व्यापारबाट घर खर्च कटाएर मासिक रु. ४० हजारसम्म आम्दानी हुँदै आएको सन्तराजले जानकारी दिए । उनले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाएका छन् । छोराले पनि उनलाई साथ दिँदै आएका छन् ।  “पुर्ख्यौली पेसाको संरक्षण पनि भयो । साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ”, उनले भने ।

सन्तराजले केही सामान ग्राहकको माग अनुसार बनाउने गरेका छन् । एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ । उनले एउटा सिलौटो रु. चार सयदेखि रु. ५ सय ५० सम्ममा बिक्री गर्दै आएका छन् । एक जोर जाँतो रु. एक हजारदेखि रु. एक हजार तीन सय सम्ममा बिक्री गर्दै आएका छन् । पछिल्लो समय आफ्नो व्यवसाय संकटमा पर्दै गएको उनको भनाइ छ । कुटानी पिसानीका लागि विभिन्न उपकरण बजारमा आएसँगै सन्तराजको पेसा संकटमा परेको हो ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्