‘बेहुली फ्रम मेघौली’ हलबाट उतारियो, यसो भन्छन् निश्चल बस्नेत
काठमाडौं– फिल्म निर्देशक, निर्माता एवम् कलकाकार निश्चल बस्नेतले आफू अभिनित ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारेको घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले बुधबार आफ्नो फिल्म हलमा नलाग्नेबारे जानकारी दिए। उक्त फिल्म बिहीबारदेखि देशभरका कुनै हलमा लाग्ने छैन।
‘भोलि (अक्टोबर १७) बाट हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौँ,’ बस्नेतले भनेका छन्। उनले ओटीपीको समस्या समाधान गर्दै चाँडै एमएसएम भिडिओमार्फत भेट हुने पनि जानकारी गराएका छन्।
निश्चलले दर्शकलाई आफ्नो चलचित्र हेर्नका लागि एप डाउनलोड गर्न समेत आग्रह गरेका छन्। उनका अनुसार, अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने एपमा चलचित्र उपलब्ध हुनेछैन।
उत्साहजनक सोसहित घटनास्थापनाको दिनबाट फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा आएको थियो। यो फिल्म फूलपातीमा रिलिज भएका अन्य तीन वटासँगै हलमा दोस्रो हप्तामा चलिरहेको थियो।
‘बेहुली फ्रम मेघौली’को राम्रो अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै निर्माता निश्चल बस्नेतले सोमबार सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका थिए।
‘अब त अत्ति भयो, लगानी उठाउने गरी लागे’ भनेका निश्चल बस्नेतको यो घोषणासँगै अब सिनेमा हलमा हुनेछैन।