Nic Ad Nic Ad
Nic Ad Nic Ad

धौलागिरिमा ज्यान गुमाएका पाँच रसियन पर्वतारोहीको शव ११ दिनपछि संकलन

बुधबार, असोज ३०, २०८१

काठमाडौँ - धौलागिरि (प्रथम) आरोहणका क्रममा असोज २० गते रातिदेखि सर्म्पकविहीन भएका पाँच जना रसियन आरोहीहरूको शव संकलन गरिएको छ । उनीहरू सम्पर्कविहीन भएको ११ औँ दिन बुधबार अल्टिच्यूटको हेलिकोप्टरद्वारा डोरीको सहायताले शवहरू संकलन गरी काठमाडौँ ल्याइएको हो । 

अल्टिच्यूट एयरका अनुसार, उक्त कम्पनीका क्याप्टेन विवेक खड्काको नेतृत्वमा परिचालन गरिएको हाई अल्टिच्यूट रेस्क्यू टिमद्वारा लङलाइन (डोरीमा झुन्ड्याएर गरिने उद्धार) बाट मृतक पाँच जनाको शव संकलन गरेर बुधबार बिहान आधार शिविर हुँदै काठमाडौँ ल्याइएको छ ।


पर्यटन विभागका अनुसार, धौलागिरि प्रथम हिमाल आरोहण क्रममा रसियन आरोहीहरू अलेक्जान्डर डसीको, ओलेग क्रुग्लोभ, भ्लादिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोई असोज २० गते राति ११ बजेदेखि सर्म्पकविहीन भएका थिए । थुप्रैपटक हेलिकोप्टर र उद्धारकर्ता पठाउँदा पनि उनीहरूको प्रतिकूल मौसमका कारण उद्धार हुन सकेको थिएन ।

सबै शवलाई ७ हजार ६ सय मिटर उचाइबाट पालै पालो धौलागिरि आधार शिविरमा झारेको बताइएको छ ।

बुधबार उनले शव र उद्धारकर्तासमेतलाई गरी ९ पटक हेलिकोप्टर उडान गरेका थिए । मंगलबार नै काठमाडौँबाट धौलागिरि आसपास पुगेका क्याप्टेन खड्का बुधबार एउटा शव साथै ल्याएर काठमाडौँ फर्किसकेका छन् ।

बाँकी शव भने अल्टिच्यूटको अर्को हेलिकोप्टरले काठमाडौँ ओसारिरहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्