Nic Ad Nic Ad
Nic Ad Nic Ad

साफ च्याम्पियनसिपमा यस पटक विजेता बन्छौँ : कप्तान एञ्जिला

बुधबार, असोज ३०, २०८१

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले आफ्नो टोली सन्तुलित र बलियो रहेकाले साफ च्याम्पियनसिपमा विजेता बन्ने लक्ष्य रहेको बताएकी छिन् ।

नेपालले तेस्रो पटक महिला साफ च्याम्पियनशिपको आयोजना गर्दैछ । भोलिदेखि घरेलु मैदानमा हुने प्रतियोगितामा नेपाली टोलीकी कप्तान तथा गोलकिपर सुब्बाले विजेता बन्ने लक्ष्य रहेको बताएकी हुन् । सबै टोली मेहनत गरेर विजेता बन्नकै लागि आए पनि यस पटक आफ्नो टोली सन्तुलित र बलियो रहेको उनको विश्वास छ ।साफ महिला च्याम्पियनशिपको उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्दैछन् । नेपालले भने पर्सि भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्रिपुरेश्वरको दशरथ रंगशालामा हुने महिला साफ च्याम्पियनसिपमा आयोजक नेपालसहित मालदिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बाङ्लादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् । सात वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा श्रीलंका, मालदिभ्स र भुटान पनि छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान र बाङ्लादेश छन् । प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ ।

नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ । यस्तै बाङ्लादेशले एक पटक उपाधि जितेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्