Nic Ad Nic Ad
Nic Ad Nic Ad

धरानका मेयर–उपमेयर विवादः हर्क–अईन्द्र ‘दोस्ती’मा कसरी आयो फाटो?

बिहीबार, कात्तिक १, २०८१

इटहरी– धरान उपमहानगरपालिकामा रोचक–रोचक किस्साको शिलशिलामा नयाँ घटना बनेको छ– कार्यबाहक मेयरको जिम्मेवारी। 

स्वतन्त्र उम्मेदवार बनी मेयरमा जित निकालेका हर्क साम्पाङ (हर्कराज राई)ले उपमेयर अईन्द्र बेघालाई कार्यबाहक दिनुको साटो वडा नम्बर ११ का अध्यक्ष मामा ससुरा लोकेन्द्र फागोलाई ५ शर्त राखी जिम्मेवारी दिए। 

कानुनतः यो विषय विवादीत पनि छ। यसैकारण उपमेयर अईन्द्र अदालतसम्म जाने निधोमा पुगेका छन्। हर्क विहीबार आज लन्डनका लागि ५ दिनसम्म रहनेगरी जाँदैछन्।

हर्क र अईन्द्रको दोस्ती थियो। चुनाव जित्नासाथ उपमेयरको सहयोगका कारणले नै हर्कका हरेक कदमले साथ पाएको धरानवासी बताउँछन्। 
यति मात्र होइन, तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँग अईन्द्रले भेट गराएका कारण धरानका लागि थप बजेट लग्न हर्क सफल पनि भएका थिए। अईन्द्र माओवादीमा उपमहासचिव शर्मानजिक मानिन्छन्। 

माओवादीका अईन्द्रका कारण नै हर्कले पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने मात्र होइन, श्रमदानमा बोलाउन भ्याए। धरान पुगेका प्रचण्डले हर्कको तारिफमा भनिदिए,‘लोकतन्त्रमा फूलेको सुन्दर फूल हो।’ तर तिनै हर्कले मामा ससुरा वडाध्यक्षलाई कार्यबाहक दिइर लन्डन जाँदा अईन्द्र अधिकार मागेर अदालत धाउने स्थितिमा छन्।

स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को (क) प्रमुखको काम कर्तब्य र अधिकारको १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उप प्रमुखलाई कार्यवाहक दिनुपर्ने उल्लेख छ। 

कानुनी मात्र नभएर नैतिक रुपमा पनि हर्कले कार्यबाहकको जिम्मेवारी अईन्द्रलाई दिनु उचित हुने थियो। तर, उनले व्यक्तिगत विवादको परिणाम कार्यबाहक जिम्मेवारीमा देखाएको उपमेयर अईन्द्रको बुझाई छ। 

मनोपोली रुपमा विवाद निम्त्याउने हर्कसँग कार्यपालिका बैठकमा उपमेयर अईन्द्रको सवाल जवाफ र विवाद समेत भएको थियो।

२०८० भदौमा झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उपाध्यक्ष कार्यलयमा हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक दिएपछि उच्च अदालत विराटनगरले गाउँपालिका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो।

नेपाली कांग्रेसबाहेकका ६ राजनीतिक दलले पनि मेयर साम्पाङको निर्णयप्रति आपत्ति जनाएका छन्। एमाले नगर अध्यक्ष हर्कजंग एभेङ, माओवादी नगर अध्यक्ष  सूर्यबहादुर भट्टराई मनोज, जसपा नगर अध्यक्ष  ताजुब लिम्बु, एकीकृत समाजवादीका रेवतीरमण राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपसभापति राम कार्की र रास्वपाका संयोजक नरेश शाक्यको हस्ताक्षरसहित जारी भएको विज्ञप्तिमा मेयर साम्पाङले गलत कार्य गरेको दाबी छ।

कसैको नसुन्ने हर्कले निर्णय नसच्याएका कारण अब उच्च अदालत गएर अधिकार प्रत्यायोजनका निम्ति रिट हाल्ने तयारीमा अईन्द्र पुगेका छन्।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्