Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेतिर हुत्तिन लागेका बामदेवलाई फकाउँदै माधवकुमार नेपाल

बिहीबार, कात्तिक १, २०८१

काठमाडौं– कम्युनिस्ट पार्टी एकताको अभियानमा लागेका नेकपा एमालेका पूर्वबरिष्ठ उपाध्यक्ष बामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा भित्राउने निर्णायक वार्ता हुने भएको छ। 

गौतम भने एमालेमा प्रवेशको तयारीमा रहेका थिए। एमालेतिर हुत्तिन लागेका गौतमलाई फकाएर सम्मानित नेता झलनाथ खनाल सो सरहको मान्यता दिनेगरी भित्राउने कसरत जारी रहेको बताइएको छ। 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता खनाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदलले बुधबारै गौतमलाई भित्राउनेगरी निर्णय गरेको थियो। 

तर यस विषयमा गौतम भने बेखबर रहेको बताइएको छ। उनले अहिलेसम्म खबर नपाएको प्रतिक्रिया दिएका छन्। यद्यपि, गौतम एमालेमा जाने विषयमा पनि छलफलको चरणमा रहेका छन्। 

एमालेमा ७० बर्षको उमेरसीमा हटाएर नेतृत्व गर्न सक्नेगरी बोलाएको खण्डमा गौतम फर्किने अपेक्षा छ। गौतमले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलभन्दा माथिको ओहदाको खोजी गरेका छन्। त्यसो हुँदा एमालेमा कार्यबाहक अध्यक्षको पद तयार गर्नुपर्ने हुन्छ। 

‘दुईतिर कुरा चलेको छ, अब कता जाने उहाँको निर्णय हो’, गौतम निकट स्रोतले भन्यो,‘उहाँ एकताको अभियानमा रहेका कारण विभाजित एमालेलाई जोड्न सकिने विकल्पका विषयमा पनि सोचिरहनु भएको छ।’
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्