Nic Ad Nic Ad
Nic Ad Nic Ad

जेलबाटै गुन्डागर्दीको शक्तिशाली गिरोह चलाउने ‘डन’

बिहीबार, कात्तिक १, २०८१

काठमाडौं– गत सोमबार क्यानडाको प्रहरीले एउटा सनसनीपूर्ण दाबी गर्‍यो

पत्रकार सम्मेलन गर्दै प्रहरीले ‘भारत सरकारले भिन्नै सिख राज्यको माग गर्दै आएका खलिस्तानी आन्दोलन पक्षधरलाई निसाना बनाउन बिश्नोई समूहजस्ता सङ्गठित आपराधिक समूहको प्रयोग गर्ने गरेको’ आरोप लगायो। 

गत वर्ष क्यानाडामा एक सिख पृथक्तावादीको हत्या भएपछि तनाव बढ्दै जाँदा दुवै देशले एकअर्काका शीर्ष कूटनीतिज्ञहरूलाई निष्कासन गरेको केही घण्टापछि उक्त पत्रकार सम्मेलन गरिएको थियो।

दिल्लीले ती आरोपहरूलाई ‘हास्यास्पद’ भन्दै प्रधानमन्त्री जस्टिन ट्रूडोले राजनीतिक लाभका लागि क्यानाडाको ठूलो सिख समुदायलाई खुसी पार्न खोजिरहेको आरोप लगाएको छ।

क्यानडा प्रहरीले अहिले स्वदेश तथा विदेशमा पुनः चर्चामा आएका ३१ वर्षीय लरेन्स बिश्नोईबारे सङ्केत गरिराखेका थिए।

भारतीय प्रहरीले बिश्नोईको ‘ग्याङ’माथि यसै साता मुम्बईमा आफ्नो छोराको कार्यालयनजिकै मारिएका चर्चित ६६ वर्षीय राजनीतिज्ञ बाबा सिद्दिकीको हत्यासँग सम्बन्धित भएको आरोप लगाएको छ।

उक्त घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बिश्नोईका सहायक भएको आरोप लागेका एक जनाले सामाजिक सञ्जालमा उक्त हत्यामा आफ्नो गिरोहको हात रहेको उल्लेख गरेका छन्।

कुनै समय भारतको सर्वाधिक खोजीको सूचीमा रहेका बिश्नोई सन् २०१५ देखि जेलमा छन् र उनलाई उनको गृहराज्य पञ्जाबमा नराखी गुजरातमा राखिएको छ। यद्यपि प्रहरी उनको प्रभाव कायमै रहेको विश्वास गर्छ।

बिश्नोई सन् २०२२ को अक्टोबरमा आफ्नै गाउँनजिकै गोली हानी मारिएका लोकप्रिय पञ्जाबी गायक सिद्धू मूसे वालाको सनसनीपूर्ण हत्याका मुख्य आरोपीसमेत हुन्। 

सन् २०१८ मा दुईवटा काला हरिण मारेको आरोपमा बलिवुड स्टार सलमान खानलाई धम्की दिएर बिश्नोईले थप कुख्याति कमाए। कालो हरिण राजस्थानको बिश्नोई समुदायको संरक्षित जनावर हो।

जोधपुरको एउटा अदालतमा पेस गरिँदै गर्दा उनलाई पर्खिरहेका सञ्चारमाध्यमहरूसँग उनले खुल्लमखुल्ला भनेका थिए,‘सलमान खानलाई यहाँ जोधपुरमा मारिने छ ... त्यसपछि उनलाई हामी वास्तवमा को हौँ भन्ने थाहा हुने छ।’

संयोगवश, हत्या गरिएका राजनीतिज्ञ सिद्दिकी सलमानका निकट मित्र थिए।

गत वर्ष मार्चमा एउटा समाचार च्यानलले पञ्जाबको जेलभित्र लिइएका बिश्नोईका दुइटा अन्तर्वार्ता प्रसारण गरेपछि उच्च अदालतले छानबिन गर्न आदेश दियो। उच्च सुरक्षा व्यवस्थाबीच ती कैदीले जेलबाटै फोनमा अन्तर्वार्ता दिने प्रबन्ध कसरी मिलाए भन्ने कुरा रहस्यमै छ।

सङ्घीय अनुसन्धानकर्ताहरूले बिश्नोईले पञ्जाब, हरियाणा, राजस्थान र दिल्लीमा गरी ७०० सदस्यसहितको गिरोहमाथिको नियन्त्रणलाई कायम राखेको र तीमार्फत् सेलिब्रटीहरूलाई लुट्ने, लागूपदार्थ तथा हतियार आदिको तस्करी गर्ने र ’लक्षित’ हत्यामा सामेल हुने गरेको अनुमान गरेका छन्।

प्रहरीका अनुसार मूसे वालाको हत्याका सहआरोपी तथा बिश्नोईका साझेदार गोल्डी ब्रारले क्यानडाबाटै ‘रिमोट कन्ट्रोल’बाट गिरोह सञ्चालन गर्छन्।
तीसभन्दा धेरै मुद्दाको सामना गरेकोमा बिश्नोईविरुद्धका १९ मुद्दा सुनुवाइका क्रममा छन्।

‘उनी जेलबाटै निर्बाध गिरोह चलाउँछन्, उनलाई सबै कुराको समन्वय पनि चाहिँदैन’, पञ्जाबका ‘एन्टी–ग्याङ्स्टर टास्क फोर्स’का वरिष्ठ अधिकारी गुरमित चौहान भन्छन्, ‘उनी अन्य गुन्डानाइकेजस्तो निश्चित क्षेत्रमा सीमित छैनन्, उनी ठूलो सोच्दछन्।’

बिश्नोई सम्पन्न परिवारमा जन्मिएका थिए। उनको परिवार पञ्जाबस्थित उनको गाउँमा सबैभन्दा धनीमध्येको हो। उनीहरू १०० एकडभन्दा बढी भूमिमा फैलिएको विशाल बङ्गलामा बस्दै आएका छन्।

उनका पूर्वप्रहरी बुवाले पारिवारिक जग्गाको रेखदेख गर्न भनेर जागिर छाडेका थिए। उनकी आमा गृहिणी हुन्। ती दम्पतीले दुई छोराहरू लरेन्स र अनमोललाई हुर्काएकोमा अहिले दुवै मूसे वालाको हत्यामा आरोपित छन्।

बिश्नोईका एक आफन्त रमेश बिश्नोईले ‘दी ट्रिब्यून’ पत्रिकाका पत्रकार तथा ‘हु किल्ड मूसे वाला’का लेखक जुपिन्दरजीत सिंहलाई बताएअनुसार पहाडी क्षेत्रमा रहेको सनावर नगरस्थित प्रतिष्ठित लरेन्स विद्यालयका संस्थापक ब्रिटिस अधिकारी हेनरी मोन्ट्गोमेरी लरेन्सको नामबाट प्रभावति भएर बिश्नोईको नाम राखिएको थियो।

बिश्नोई आफैँले पनि ‘कन्भेन्ट’ विद्यालयमा पढेका थिए। उनी आठै कक्षादेखि आफ्नै मोटरसाइकल चढेर विद्यालय जानुका साथै धेरैले पहिले नामै नसुनेका विलासी जुत्ताहरू लगाउँथे। उनी खाँचोमा परेका स्थानीय बालबालिकाहरूलाई चुपचाप सहयोग गर्नका लागि परिचित हुनुका साथै निर्विवाद प्रभाव भएका अन्तर्मुखी व्यक्तित्व भएको सिंह बताउँछन्।

सन् २००८ मा विद्यालय शिक्षापछि उनी चण्डीगढको एक कलेजमा सरे। सहरको विद्यार्थी राजनीतिमा छिट्टै घुलमिल पनि भए। ‘उनीसँग पैसा, शैली र हिम्मत तीनै थोक थियो’, चण्डीगढका एक प्रहरी अधिकारीले सिंहसँगको कुराकानीमा उनलाई पछ्याउनेहरू बिश्नोईतर्फ कसरी आकर्षित हुन्थे भन्ने प्रसङ्गमा बताएका छन्।

उनी विद्यार्थी सङ्गठनमा सामेल भए, चुनाव पनि लडे, तर हार्न पुगे। यो हारलाई उनले व्यक्तिगत रूपमा लिए। प्रहरी विवरणका अनुसार यो मोडले उनलाई हिंसाको संसारको निकट पु¥यायो, उनी नेताबाट अपराधी बनेका विद्यार्थीका पूर्वनेताहरूको सम्पर्कमा पुगे।

त्यसपछि चाँडै नै बिश्नोईको नाम क्याम्पसमा हुने झैझगडा, आगजनी र गोलीबारीका घटनाहरूमा जोडिन थालेको प्रहरी जनाउँछ।

बिश्नोईको गृहराज्य पञ्जाबमा ठूलो सङ्ख्यामा उपस्थित आपराधिक गिरोहहरूले लागुपदार्थ तथा हातहतियारको तस्करी र जबरजस्ती पैसा असुली गर्नुका साथै स्थानीय चलचित्र तथा सङ्गीत उद्योगमा पनि प्रभाव जमाएका छन्। पञ्जाबको नगद–निर्देशित अर्थतन्त्रलाई लागुपदार्थ, घरजग्गा र अवैध मदिराको कारोबारले झनै बढावा दिएको र यसले यस्ता गिरोहरूलाई हुर्किन सघाउनुका साथै त्यहाँ अपराध र पञ्जाबी पप संस्कृतिको मिश्रणको अवस्था सिर्जना गरेको धेरैको बुझाइ छ।

सिंहका अनुसार पञ्जाबका गुण्डानाइकेहरू धनको निम्ति मात्रै भूमिगत गिरोहमा सामेल हुँदैनन्, उनीहरूमा कुख्याति कमाउने भोक र ‘कोही बन्ने’ हुटहुटी हुन्छ।

प्रसिद्धिको यो टेढो खोजको जरो सामन्ती र पितृसत्तात्मक संस्कृतिमा भेटिन्छ। धेरै गुन्डानाइकेहरूले अन्लाइन माध्यममा आफ्नो जीवनशैली प्रदर्शन गर्ने भएकाले सामाजिक सञ्जालले त्यसलाई व्यापक बनाइदिन्छ। उनीहरूको जीवनशैलीका कारण प्रायशः अपराधलाई पैसा र चमकदमकयुक्त जीवनतर्फको छोटो मार्गका रूपमा हेरिन्छ। यसले पञ्जाबका सेवानिवृत्त खेलाडी तथा र छनौटमा परेका युवाहरूलाई पनि अँध्यारोतर्फ आकर्षित गरेको छ।

प्रहरीको विवरणका अनुसार सन् २०११ को मध्यदेखि यो सेप्टेम्बरसम्म ५०० भन्दा धेरै गिरोहलाई भङ्ग गराइएको छ भने १,४०० जनाभन्दा धेरै गुन्डानाइकेहरू पक्राउ परेका छन्। त्यस क्रममा भएका सङ्घर्षमा १६ जना गुन्डानाइके मारिनुका साथै ८० भन्दा धेरै घाइते भएका छन्। त्यस्तै प्रहरीतर्फ तीन जना अधिकारीले ज्यान गुमाउँदा २६ जनाभन्दा धेरै घाइते भएका छन्।

प्रहरीका अनुसार बिश्नोई चारवटा मुद्दामा दोषी पाइएका छन्, यद्यपि हत्याजस्तो गम्भीर घटनामा भने अहिलेसम्म दोषी ठहरिएका छैनन्।

सफासँग छाँटिएको दाह्री, सतर्क आँखाहरू र त्यसमाथि हुडीका साथ बिश्नोई प्रायः अनौपचारिक रूपमा देखिन्छिन्। दाउ चर्को भएका बेला उनी आफ्नो छविलाई व्यवस्थित गर्ने चातुर्य देखाउँछन्।

उनी एकपटक अदालतमा भारतका सम्मानित क्रान्तिकारी नेता भगत सिंहको तस्बिर छापिएको टिसर्टमा झुल्किएका थिए।

जेलमा खिचिएको भनिएको एउटा व्यापक रूपमा फैलिएको भिडिओमा यी दाह्रीवाला गुन्डानाइके भन्छन्, ‘हाम्रो हृदयमा क्रान्तिको लालसा छ। हेरौँ, शत्रुमा कत्तिको ताकत छ।’ बहुअर्थी भएकाले उनका शब्दहरू अस्पष्ट छन्।

बिश्नोईको उदय अरूभन्दा फरक छ। ‘जेलमा भए पनि उनले आफ्नो गिरोह चलाइरहेको देखिन्छ। उनलाई आवश्यक सामग्रीहरू कसले उपलब्ध गराउँछ वा मिडिया पहुँच कसले दिन्छ? शक्तिशाली सहयोगीबिना यस किसिमको नियन्त्रण असम्भव हुन्छ’, सिंह भन्छन्।

यी मान्छेलाई यस्ता मनगढन्तेजस्ता कहानीबाट अलग्याउन चुनौतीपूर्ण छ।

 

(बीबीसी नेपाली न्यूजबाट साभार)
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्